एएफसी महिला एसिया कपको छनोटबाटै बाहिरियो नेपाल
५ असोज, काठमाडौँ । बलियो टोली हङकङसँग बराबरी खेले पछि नेपाली महिला फुटबल टोली एएफसी महिला एसियन कप–२०२२ छनोटको समूह चरणबाट बाहिरिएको छ ।
उज्वेकिस्तान आज भएको छनोट दोस्रो खेलमा नेपाल हङकङसँग गोल रहित बराबरी खेल्दै अंक बाँड्दा नेपाली महिला फुटबल टोलीको भारतमा आयोजना हुने एएफसी महिला एसियन कपको यात्रा समाप्त भएको हो । दुई खेलबाट १ अंक जोडेको नेपाल अघिल्लो चरण पुग्नका लागि हङकङविरुद्ध जित्नै पर्ने दबाब रहेको थियो । तर, नेपालले हङकङसँग बराबरीमा चित्त बुझाउँदा छनोटबाटै बाहिरिएको हो । निकै प्रतिस्पर्धात्मक बनेको खेलमा नेपालले हङकङलाई दबाब दिएर खेले पनि पाएका केही राम्रा अवसर सदुपयोग गर्न सकेन । नेपालले पहिलो पटक हङकङसँग बराबरी खेलेको हो । यस अघिको दुई भेटमा नेपालले नतिजा सुम्पिएको थियो । छनोटको पहिलो खेलमा नेपालले सुरुआती अग्रता अन्तिम मिनेटमा कायम राख्न नसक्दा फिलिपिन्ससँग २–१ गोल अन्तरले पराजित भएको थियो । उक्त खेलमा नेपालविरुद्ध फिलिपिन्सले बराबरी र इन्जुरी समयमा दोस्रो गोल गर्दै रोमाञ्चक जित निकालेको थियो ।