ओमान भ्रमण सकेर नेपाली टोली स्वदेश फर्कियो
५ असोज, काठमाडौँ । ओमान, अमेरिका र नेपाल सम्मिलित त्रिकोणात्मक सिरिज खेलेर नेपाली राष्ट्रिय क्रिकेट टोली आज स्वदेश फर्किएको छ ।
युवा खेलाडी बाहुल्यता रहेको टोलीले भ्रमणका चार खेल मध्येका दुई खेलमा जित निकाल्न सफल भयो । साथै आईसिसि विश्वकप क्रिकेट लिग डिभिजन–२ को तालिकामा स्थान सुधार समेत गरेर फर्किएको छ । नेपाली टोलीलाई क्यानका छुम्बी लामाले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा स्वागत गरे । घरेलु टोलीलाई उसैको मैदानमा पराजित गर्नु टोलीका लागि राम्रो पक्ष भएको नेपाली टोलीका कप्तान ज्ञानेन्द्र मल्लले बताउनुभयो । युवा खेलाडीमा गरेको लगानीको प्रतिफलको असर विस्तार टोलीमा देखिन थालेको कप्तान मल्लले टिप्पणी गर्नुभयो । यस्तै राष्ट्रिय टोलीबाट एक दिवसीय खेलमा डेब्युको मौका पाएका विक्रम शोबले पनि भ्रमण व्यक्तिगत करियर र टोलीका लागि राम्रो भएको प्रतिक्रिया दिनुभयो । विक्रम शोबले अमेरिका विरुद्ध डेब्यु गर्दा पाएको पहिलो ओभरको बलिङको पनि पहिलो बलमा विकेट निकाल्न सफल भएका थिए । व्यक्तिगत खेललार्ई निर्खानका लागि अझै मिहिनेत गर्नु पर्ने उहाँले बताउनुभयो । त्रिकोणात्मक सिरिज अघि नेपाली टोलीले ओमान रहँदा पपुवा न्युगिनीविरुद्ध दुई खेलको एकदिवसीय अन्तराष्ट्रिय सिरिज खेलेको थियो । जसमा नेपालले सिरिज क्लिन स्विप गरेको थियो ।