संविधानमा मतभेद कायम नै छ भन्नु जनतालाई धोका दिने कुरा मात्रै होः अध्यक्ष ओली

स्वर्णिम खबर
३ आश्विन २०७८, आईतवार १५:४७

३ असोज, काठमाडौँ । नेकपा(एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नेपालको संविधान सर्वस्वीकार्य भएको बताउनुभएको छ ।
आइतवार सातौँ संविधान दिवस तथा राष्ट्रिय दिवसको अवसरमा नेकपा(एमाले)ले आयोजना गरेको कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले नेपालको संविधान सर्वस्वीकार्य भएको बताउनुभएको हो । संविधान जारी गर्दाताका केही मतभेद भएको भएपनि अहिलेको अवस्थामा संविधान सर्वस्वीकार्य बनेको उहाँले बताउनुभयो । मधेश केन्द्रीत दलहरुप्रति लक्षित गर्दै उहाँले नेपालको संविधानको निष्ठा र बफादारितका साथ सपथ खाइ लाभको पदमा पुग्ने र संविधानमा मतभेद कायम नै छ भन्ने दोहोरो नीति जनतालाई धोका दिने कुरा मात्रै भएको उहाँले बताउनुभयो । संविधान संशोधन गरी लिम्पियाधुरा, लिपुलेक र कालापानीको समेटिएको नेपालको नक्सा संविधानको अनुसूचीमा राख्ने बेला सर्वसम्मती भएको उल्लेख गर्दै उहाँले संविधानको आधारभुत प्रस्तावना, मुल्यमान्यता सही छन् भन्नेकुरामा सर्वस्वीकार्यता भएको बताउनुभयो । अध्यक्ष केपी शर्मा ओलीले एमाले फुटाउनका लागि असंवैधानिक, अलोकतान्त्रिक र गैर कानूनी क्रियाकलाप भएको भन्दै संविधानको रक्षा र कार्यान्वयनका लागि यस्ता क्रियाकलापले बाधा सिर्जना गर्ने बताउनुभयो । उहाँले सर्वोच्च अदालतप्रति लक्षित गर्दै संविधानको व्याख्याको नाममा संशोधन गरिएको आरोप पनि लगाउनुभयो । उहाँले संविधानमा स्पष्ट व्याख्या गरिएको कुरालाई उल्लंघन गरेर अर्को कुरा गर्नु व्याख्या नभइ संशोधन भएको तर्क गर्नुभयो । संविधान संशोधनको अधिकार संसदको दुई तिहाईलाई मात्रै भएको भन्दै उहाँले यस्तो काम अन्तैबाट हुनु खतरनाक भएको टिप्पणी गर्नुभयो । अध्यक्ष ओलीले सरकारले संविधान दिवसको अवसरमा दिइने विभुषणहरु नेताका आफ्नो परिवार र नातागोता भित्रका मानिसहरुलाई दिइएको भन्दै तिखो आलोचना गर्नुभयो । संविधान दिवसको दिन सहिदका आमाबुबा, सहिदका सन्तान, घाइतेहरुले तक्मा पाउनुपर्नेमा नेताका श्रीमती र बुबाले तक्मा पाउनु बिडम्बना भएको उहाँको टिप्पणी छ । उहाँले नयाँ संविधान बनेपछि राजनीतिक परिवर्ननको लागि संघर्ष गर्नुपर्ने दिनको अन्त्य भएको उल्लेख गर्नुभयो । नेपालको परिवर्तनको लागि अब हिंसा आवश्यक र स्वीकार्य छैन भन्ने स्पष्ट पारेको पनि उहाँको भनाई छ । अध्यक्ष ओलीले नेपाली समाजलाई स्थायित्व र समृद्धिको दिशामा अगाडी बढाउन संविधानले मार्गदर्शन गरेको बताउनुभयो ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*