मुलुक विकासको लागि संविधानको सफल कार्यान्वयन जरुरीः प्रधानमन्त्री देउवा

स्वर्णिम खबर
३ आश्विन २०७८, आईतवार १३:४२

३ असोज, काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले संविधानको सफल कार्यान्वयन गर्दै मुलुकमा विकास, समृद्धि र स्थायी शान्ति कायम गर्नु सबैको साझा लक्ष्य भएको बताउनुभएको छ ।
सातौं संविधान दिवसका अवसरमा सैनिक मञ्च टुँडिखेलमा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले लोकतन्त्रको माध्यमबाट सबै समस्या समाधान गर्न सरकार प्रतिवद्ध रहेको उल्लेख गर्नुभयो । संवाद, सहमति र सहकार्यबाट अघि बढ्दै मुलुकमा विकास, समृद्धि र स्थायी शान्ति कायम गर्नु सबैको साझा लक्ष्य भएको उहाँको भनाइ थियो । प्रधानमन्त्री देउवाले विधिको शासन अवलम्बन गर्दै मुलुकमा दीगो शान्ति कायम गर्ने बताउनुभयो । सम्बोधनको क्रममा प्रधानमन्त्री देउवाले यो वर्षको अन्त्यसम्म सबैलाई कोरोनाविरुद्धको खोप लगाइने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । आफू नेतृत्वको सरकारको जोड कोभिड–१९ विरुद्धको खोप रहेको प्रधानमन्त्री देउवाको भनाई थियो । कोभिड–१९ संक्रमणको जोखिमबाट बचाउन सरकार प्रतिवद्ध रहेको उल्लेख गर्दै उहाँले संविधानले नागरिकको आकांक्षा र भविष्यलाई सुरक्षित गरेको दाबी गर्नुभयो । समारोहमा प्रधानमन्त्री देउवासहित राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा, सभामुख अग्नि सापकोटा, राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, लगायत सहभागी भएका थिए । यस्तै, समारोहमा विभिन्न सांस्कृतिक झाँकी प्रदर्शन गरिएको थियो । नेपाली सेनाको हेलिकप्टरबाट पुष्पवृष्टि गर्नुका साथै शान्तिको प्रतीक सेतो परेवा पनि उडाइएको थियो ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*