एक हप्ताभित्र मन्त्रिपरिषद्ले पूर्णता पाउँछः माधव नेपाल
१ असोज, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले अबको एक हप्ताभित्र मन्त्रीपरिषद् बिस्तार हुने बताउनुभएको छ ।
बानेश्वरको आलोकनगरमा पार्टीको केन्द्रिय कार्यालय उद्घाटनपछि अध्यक्ष नेपालले अबको एक हप्ता भित्रमा मन्त्रिपरिषद्ले पूर्णता पाउने बताउनुभएको हो । उहाँले सरकार र संसदमा आफ्नो पार्टीको भूमिका सत्ता पक्षको भएको बताउँदै प्रदेश र संघीय सरकारमा पार्टी सहभागी बन्ने बताउनुभयो । अध्यक्ष नेपालले सत्ता गठबन्धनको महत्वपूर्ण हिस्सा एकीकृत समाजवादी भएको समेत दाबी गर्नुभयो । अध्यक्ष नेपालले एमसीसीलाई पठाएका जवाफ आइसकेको र त्यसको बारेमा छलफल भइरहेको बताउनुभयो । उहाँले एमसीसीलाई सोधेका सात प्रश्नको जवाफका बारेमा छलफल भइरहेको र जनमानसको मानसिकतालाई ध्यानमा राखेर मात्रै एमसीसीको निर्णय लिने बताउनुभयो । अध्यक्ष नेपालले गठबन्धन तोड्नको लागि अहिले अनेक किसिमको दाउपेच चलिरहेको बताउँदै भ्रमात्मक कुराको पछि नलाग्न आग्रह गर्नुभयो । उहाँले तत्काल कुनै पनि पार्टीसँग पार्टी एकता नहुने र पाँच दलीय गठबन्धनलाई नै बलियो बनाएर चुनावी मैदानमा उत्रिने बताउनुभयो । निजी, सार्वजनिक र सहकारी क्षेत्रलाई तालमेल मिलाएर राष्ट्रिय पूँजीलाई विकास गर्ने पार्टीको योजना रहेको बताउँदै अध्यक्ष नेपालले अन्याय र अत्याचारको बिरुद्धमा पार्टी दृढतापूर्वक लागि पर्ने पनि बताउनुभयो ।