माधव नेपालको व्यक्तिगत स्वार्थ र अहंकारका कारण पाटी फुट्योः अध्यक्ष ओली

स्वर्णिम खबर
३१ भाद्र २०७८, बिहीबार १७:५५

३१ भदौ, काठमाडौँ । नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओलीले माधव नेपालको पार्टीमा नगई एमालेमै फर्किन नेता कार्यकर्ताहरुलाई आव्हान गर्नुभएको छ ।
बिहीवार काठमाडौं जिल्ला कमिटीले आयोजना गरेको जिल्ला स्तरीय विस्तारित प्रशिक्षण कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले नेता माधव नेपालको पछि नलागी नेकपा(एमाले)मै रहनका लागि आव्हान गर्नुभएको हो । नेपालले व्यक्तिगत स्वार्थ र अहंकारका कारण पार्टी फुटाएको भन्दै उहाँले कार्यकर्ताको भविष्य सँग खेलवाड गरेको पनि बताउनुभयो । आफ्नो व्यक्तिगत स्वार्थका कारण अरुको जिन्दगीसँग खेल्नु डरलाग्दो भएको उल्लेख गर्दै उहाँले नेपालले घरमा आगो लगाएर खरानी घसेर हिडेको टिप्पणी गर्नुभयो । नेता नेपालको भविष्य नभएको भन्दै उहाँले भविष्य भएका नेता कार्यकर्ता मुल पार्टीमै फर्किन उहाँले नेता, कार्यकर्ताहरुलाई आग्रह गर्नुभयो । केही नेताहरुले माधव नेपाललाई एमालेमा फर्किन आग्रह गरेको प्रति टिप्पणी गर्दै अध्यक्ष ओलीले माधव नेपालको एमालेमा आवश्यकता नभएको बताउनुभयो । उहाँले पार्टीमा भएका विगतमा नेपाल पक्षका नेताहरु तर्फ लक्षित गर्दै माधव नेपालको लोभ नगर्न पनि आग्रह गर्नुभयो । अध्यक्ष ओलीले वर्तमान सरकारले लोकतन्त्रका सामान्य मूल्य मान्यताको पनि पालना नगरेको बताउनुभयो । वर्तमान सरकारले बजेट ल्याउन नसकेको भन्दै उहाँले आलोचना गर्नुभयो । आफुहरुले बजेट ल्याउन नरोकेको भन्दै उहाँले संसदमा कुदेर अर्थोक गर्न मिल्ने तर बजेट ल्याउन किन नमिल्ने भन्ने प्रश्न समेत गर्नुभयो । उहाँले एमालेले गरेको शान्तिपूर्ण आन्दोलनमा सरकारले बल प्रयोग गरिरहेको भन्दै शान्तिपूर्ण आन्दोलनमा बल प्रयोग नगर्न चेतावनी समेत दिनुभयो । आगामी दिनमा एमाले बाजागाजा सहित सिंहदरबारको मुल ढोकाबाट सरकारको नेतृत्व गर्न पुग्ने उहाँले दाबी गर्नुभयो ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*