दलको नेतामा पाण्डे, मुख्यमन्त्रीलाई समर्थन नगर्ने
२७ भदौ, हेटौँडा । नेकपा एकीकृत समाजवादी पार्टी बागमती प्रदेश संसदीय दलको नेतामा राजेन्द्र पाण्डे चयन भएको छ ।
निर्वाचन आयोगले प्रदेशसभा सचिवालयलाई पत्र पठाए लगत्तै बसेको पार्टीको संसदीय दल बैठकले पाण्डेलाई दलको नेतामा चयन गरेको हो । बैठकले संसदीय दलको विधान समेत पास गरेको छ । यस्तै मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यलाई समर्थन नगर्ने निर्णय पनि लिइएको छ । योसंगै शाक्य अल्पमतमा पर्नु भएको छ । बागमती प्रदेशसभामा नेकपा एकीकृत समाजवादीका १३ जना सांसद रहेका छन् । मुख्यमन्त्रीमा नेपाली कांग्रेसका इन्द्र बानियाँ र एकीकृत समाजवादीका राजेन्द्र पाण्डेको दाबी छ । संसदीय दलको नेता पाण्डेले भने आफ्नै नेतृत्वमा सरकार बन्ने दावी गरेका छन् । मुख्यमन्त्रीमा गठबन्धनका दुई नेता लविङमा लाग्दा को मुख्यमन्त्री बन्ने भन्ने विषयमा गठबन्धन शीर्ष नेतृत्वकै निर्देशन अनुसार चल्ने भन्दै नेतृत्वको निर्देशन कुरीरहेका छन् ।