एमालेको नाराबाजीले संसद् बैठक स्थगित, अर्को बैठक मंगलबार बस्ने
२७ भदौ, काठमाडौँ । प्रतिनिधिसभाको अर्को बैठक मंगलबार बस्ने भएको छ ।
आइतबार बसेको प्रतिनिधिसभाको पहिलो बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा(एमाले)ले नाराबाजीसहित अवरोध गरेपछि बैठक १५ मिनेटको लागि स्थगित गरिएको थियो । आइबार नै बसेको दोस्रो बैठकमा पनि प्रतिपक्षी दल एमालेका सांसदहरुले नाराबाजी गरिरहेपछि सभामुख अग्निप्रसाद सापकोटाले अर्को बैठक भदौ २९ गते मंगलबार दिउँसो १ बजे बस्ने जानकारी दिदैँ बैठक स्थगित गर्नुभएको हो । सभामुख सापकोटाले करोडौँ जनताको आवाजको प्रतिनिधित्व गर्ने संसद चल्नुपर्नेमा जोड दिदैँ आफूले संविधान, नियम, कानून अनुसार नै अगाडी बढ्ने मूल मान्यता भएको बताउनुभएको थियो । उहाँले समन्वय र समझदारी गरी वादविवादलाई संम्वादमा पु¥याउनुपर्ने बताउँदै सम्वादमा आउन प्रमुख प्रतिपक्षी दलका सांसदहरुलाई पटक पटक आग्रह गरेपनि नाराबाजी नरोकिएपछि आगामी बैठक मंगलवार बस्ने बताउनुभएको हो । आइतवारको बैठकमा पनि प्रतिपक्षी सांसदहरुले संसदीय मर्यादा कायम गर, संवैधानिक सर्वोच्चता कायम गर, पक्षपातपूर्ण व्यवहार बन्द गर, पार्टी फुटाउने षड्यन्त्र मुर्दावाद, गैरसांसदलाई प्रवेश निषेध गर, यथास्थितिमा संसद चल्दैन लगायतका नाराबाजी लगाएका थिए ।