विभिन्न प्रपञ्च रचेर सरकार एमसीसी पास गर्नतिर लाग्योः प्रकाण्ड

स्वर्णिम खबर
२६ भाद्र २०७८, शनिबार १७:१४

२६ भदौ, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (विप्लव समूह) ले राष्ट्रियतामाथि हमला भइरहेको निष्कर्ष निकालेको छ ।
शनिवार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै विप्लव समूहको नेपाल कम्युनिष्ट पार्टीले एमसीसीको मुद्दा मुखरित भएर फेरि एकपटक नेपालको राष्ट्रियतामाथि हमला भइरहेको निष्कर्ष निकालेको हो । पत्रकार सम्मेलनमा पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा (प्रकाण्ड) ले तीन÷चार वर्षअघि एमसीसीलाई सम्पन्न गर्ने उद्देश्यले अमेरिकी शासक वर्गले चलाएको कार्यक्रम भएको बताउनुभयो । उहाँले सरकारले एमसीसी जस्तो राष्ट्रघाती प्रोजेक्टलाई संसदबाट पास गर्ने चलखेल गरिरहेको आरोप लगाउनुभयो । सबै नेपाली नागरिकहरु यसविरुद्ध आन्दोलित भइरहेको बेलामा पनि दलालहरुले यसलाई पास गर्नुपर्ने भनिरहेको बताउनुभयो । प्रवक्ता प्रकाण्डले विभिन्न प्रपञ्च रचेर सरकारले एमसीसी पास गर्न लागेको भन्दै यो सम्झौता नेपाली जनता र नेपाल कम्युनिष्ट पार्टीलाई स्वीकार्य नहुने बताउनुभयो । सरकारले संसद बोलाएर एमसीसी तत्काल पास गर्ने योजना बनाइरहेकोले आफ्नो पार्टीले राष्ट्रिय र केन्द्रिकृत रुपमा नेतृत्व प्रदान गर्न एक हप्ते संघर्षको कार्यक्रम राखेको बताउँदै प्रवक्ता प्रकाण्डले भाद्र २८ गते काठमाडौंमा वृहत प्रदर्शन गर्ने बताउनुभयो । उहाँले प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकार धेरै आन्तरिक शंकटबाट ग्रस्त भएपछि बनेको र यसको आयु ६ महिना वा एक वर्षको हो भन्ने कुनै ठेगान नरहेको बताउनुभयो । उहाँले सरकारले राष्ट्रघाती एमसीसी पास गरेर कुनै मुर्खता नगरोस् भन्ने चाहेको बताउनुभयो । देउवा सरकारले हाउसमा पेश गर्ने एमसीसी भन्ने योजना फिर्ता लिनुपर्ने बताउनुभयो । प्रवक्ता प्रकाण्डले सरकारले यदी मुर्खता नै गरिरहे देशमा आगो लाग्ने चेतावनी दिनुभयो । एमसीसी मुर्खता गरेर पनि पास गरे देश जल्ने र देशमा आन्दोलनको आगो लाग्ने बताउँदै प्रवक्ता प्रकाण्डले १० वर्ष युद्ध लडेका प्रचण्ड र राणाविरुद्धको आन्दोलनमा काँग्रेसले गर्नुपरेको बलिदानलाई सम्झन प्रधानमन्त्री देउवाको ध्यानाकर्षण गराउनुभयो । उहाँले एमसीसी पास गरे आगामी संसदीय चुनाव खरानी भएर जनमत संग्रह हुने बताउनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*