एमसीसी उपाध्यक्ष फातिमा काठमाडौँमा, सुरक्षा व्यवस्था कडा पारियो

स्वर्णिम खबर
२४ भाद्र २०७८, बिहीबार ११:५०

२४ भदौ, काठमाडौँ । एमसीसी उपाध्यक्ष फातिमा सुमार र सहायक उपाध्यक्ष जोनाथन बु्रक्स काठमाडौं आइपुगेका छन् ।
नेपालको चारदिने भ्रमणका लागि उनीहरु काठमाडौं आईपुगेका हुन् । काठमाडौं आउनुअघि बुधबार उपाध्यक्ष सुमारले एमसीसीबारे नेपाली जनस्तरमा उठेको प्रश्नसहित सरकारले पठाएको पत्रको अमेरिकी दूतावासमार्फत जवाफ पठाएकी थिइन् । नेपाल आईपुगेका उपाध्यक्ष सुमार नक्सालस्थित मेरियट होटलमा बस्ने बताईएको छ । कतार एयरवेजमार्फत बिहीबार बिहान काठमाडौं ओर्लिएका एमसीसी टोलीको बिरोध हुने कार्यक्रम भए पछि भ्रमणलाई लक्षित गरी सुरक्षा व्यवस्था कडा पारिएको छ । नेपालमा एमसीसीको विरोधसमेत भइरहेको र सुमारको भ्रमणमा विरोध प्रदर्शन हुनसक्ने आँकलन गर्दै स्थानीय प्रशासनले सुरक्षा व्यवस्था कडा पारेको हो । उपाध्यक्ष सुमारको टोलीले सम्झौताका विषयमा प्रधानमन्त्री शेरबहादुर देउवा र राजनीतिक दलका शीर्ष नेताहरूसँग वार्ता गर्ने कार्यतालिका छ । नेपालको गरिबी घटाउन तथा दिगो सामाजिक–आर्थिक विकासका लागि चार वर्षअघि अमेरिकाको सरकारी निकाय एमसिसीबीच सम्झोता भएपछि हुन लागेको यो पहिलो उच्चस्तरीय भ्रमण हो । उपाध्यक्ष फतिमाको टोलीले आजैबाट राजनीतिक भेटघाट शुरु गर्ने कार्यक्रम रहेको बताइएको छ । उपाध्यक्ष फतिमाको पहिलो भेट प्रमुख प्रतिपक्षी दलका नेता केपी ओली सँग हुने बताइएको छ । प्रमुख प्रतिपक्षी दलका नेता ओली भेट्न उनी भक्तपुर बालकोटस्थित निवासमा दिउँसो पुग्ने बताइएको छ । ओलीसँगको भेटपछि याक एण्ड यति होटलमा रहेको एमसीसी नेपालको कार्यालयमा पुग्ने कार्यक्रम रहेको छ । भोलि माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल, जनता समाजवादी पार्टीका संघीय परिषद्का अध्यक्ष डा बाबुराम भटटराई लगायतका नेताहरुसँग भेटघाट गर्ने कार्यक्रम रहेको छ । प्रधानमन्त्री सँगको भेट भोली ४ बजे प्रधानमन्त्री कार्यालय सिंहदरबारमा हुने बताइएको छ । सम्झौता अनुसार सडक सञ्जाल, विद्युत् प्रसारण लाइन निर्माणलगायत नेपालको भौतिक पूर्वाधार विकासका आयोजना कार्यान्वयनका निम्ति अनुदानस्वरूप अमेरिकाबाट नेपाललाई ५० अर्ब सहयोग प्राप्त हुनेछ ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*