बागमती प्रदेशमा मन्त्रीपरिषद् विस्तार, ६ मन्त्री र ४ राज्यमन्त्री नियुक्त
२३ भदौ, हेटौँडा । बागमती प्रदेशकी मुख्मन्त्री अष्टलक्ष्मी शाक्यले मन्त्रीपरिषद् विस्तार गर्नुभएको छ ।
मुख्यमन्त्री शाक्यले बुधबार नेकपा एमालेका सांसदबाट ६ मन्त्री र ४ जना राज्यमन्त्री नियुक्त गर्नुभएको हो । नवगठित मन्त्रिपरिषदमा डा. अजय क्रान्ति शाक्यलाई आन्तरिक मामिला तथा कानुन मन्त्रालयको जिम्मेवारी दिइएको छ । यस्तै रचना खड्का आर्थिक मामिला तथा योजना मन्त्री, विजय सुवेदी सामाजिक विकास मन्त्री र शान्तिप्रसाद पौडेल उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री बनेका छन् । प्रदीपकुमार कटुवाल क्षेत्रीलाई स्वास्थ्य मन्त्रालयको जिम्मेवारी दिइएको छ भने चन्द्र लामालाई भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री नियुक्त गरिएको छ । यस्तै जीवन खड्कालाई भौतिक पूर्वाधार विकास राज्यमन्त्री, सरस्वती बाटीलाई उद्योग राज्यमन्त्री, जुनेली श्रेष्ठलाई सामाजिक विकास राज्यमन्त्री र बद्री मैनालीलाई भूमि व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्रीको जिम्मेवारी दिएको छ । नवनियुक्त ६ मन्त्रीहरुलाई प्रदेश प्रमुख यादवचन्द्र शर्माले शपथ गराउनुभएको हो भने ४ जना राज्यमन्त्रीलाई मुख्यमन्त्री शाक्यले शपथ गराउनुभएको हो । बुधबार नियुक्त भएकासँगै बागमती प्रदेशको मन्त्रिपरिषद् १२ सदस्यीय भएको छ ।