सरकार र सत्तारुढ गठबन्धनलाई ओलीको प्रश्नः एमसीसी के गर्ने हो ?
१९ भदौ, काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले एमसीसी सम्झौंताबारे सरकारको धारणा स्पष्ट पार्न प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग माग गर्नु भएको छ ।
पूर्वप्रधानमन्त्री समेत रहनु भएका अध्यक्ष ओलीले काँग्रेस र माओवादी केन्द्र मिलेर एमसीसी सम्झौंता गरेको उल्लेख गर्दै अहिले चुपचाप बसिरहेकोमा आपत्ति जनाउनु भयो । नेकपा एमाले काठमाडौं महानगर कमिटीले शनिबार काठमाडौंमा आयोजना गरेको बृहत कार्यकर्ता भेलामा बोल्दै उहाँले एमसीसी झुक्यायर पास गर्ने प्रयास नगर्न पनि सरकारलाई सचेत गराउनु भयो । अध्यक्ष ओलीले एमसीसीबारे के गर्ने हो ? भनेर सरकार र सत्तारुढ गठबन्धनलाई पटक–पटक प्रश्न समेत गर्नु भयो । अध्यक्ष ओलीले आफू नेतृत्वको सरकारले शिलान्यास गरेर अगाडि बढाएको सडकहरुको ठेक्का रद्ध गर्ने काम गरेर वर्तमान सरकारले विकास विरोधी आफ्नो चरित्रलाई देखाएको आरोप समेत लगाउनु भयो । अध्यक्ष ओलीले एमालेसँग एक्लै चुनाव लड्न आउने दलहरुको जमानत जफत हुने दावी समेत गर्नु भयो । सत्तारुढ गठबन्धन मोर्चाबन्दी गरेर चुनाव आउने कुरा आफूले सुनेको उल्लेख गर्दै उहाँले जमानत जोगाउन पनि आफ्नो पार्टीसँग मिलेर चुनाव लड्न आउन सत्तारुढ गठबन्धन दललाई चुनौति दिनुभयो । अध्यक्ष ओलीले माधव नेपालजस्तो लाजसरम पचेको मान्छे आफूले कहीँपनि नदेखेको टिप्पणी समेत गर्नु भयो । माधव नेपाललाई आफ्नो घरको बिरालोको संज्ञा दिँदै उहाँले अहिले शेरबहादुर देउवाको भान्सामा दुधभात खान म्याऊ गरेर पुगेको व्यंग्य समेत कस्नु भयो । माधव नेपालले पतनको बाटो रोजेको अध्यक्ष ओलीले टिप्पणी गर्नुभयो । अध्यक्ष ओलीले मुलुकलाई समृद्धिको बाटोमा अघि बढाउन एमालेको विकल्प नरहेको दोेहो¥याउनु भयो । उहाँले भूमि समस्या समाधान आयोग खारेज गरेर सरकारले गरिवमारा चरित्र देखाएको आरोप समेत लगाउनु भयो ।