बागमतीमा एमालेका १२ जना सांसद्ले नेकपा एकीकृत समाजवादी रोजे

स्वर्णिम खबर
१५ भाद्र २०७८, मंगलवार १७:४६

१५ भदौ, हेटौँडा । बागमती प्रदेशसभाका नेकपा एमालेका १२ जना सांसदले आफू नेकपा एकीकृत समाजवादी पार्टी रोजेका छन् ।
नेकपा एमालेको तर्फबाट प्रदेशसभा सदस्य भएका उनीहरुले पार्टी विभाजनसँगै मंगलबार औपचारिकरुपमा बागमती प्रदेश निर्वाचन आयोगको कार्यालय हेटौंडामा उपस्थित भएर नवगठित नेकपा (एकीकृत समाजवादी) पार्टी रोज्दै सनाखत गरेका हुन् । सनाखत गर्ने सांसदहरुमा राजेन्द्र पाण्डे, मुनु सिग्देल, बसुन्धरा हुमागाईं, लक्ष्मण लम्साल, राजेन्द्रमान श्रेष्ठ, पार्वती सिलवाल, इन्द्रमाया गुरुङ, माधव पौडेल, बसन्त मानन्धर, रमा आले मगर, कुसुमकुमार कार्की र कृष्ण खनाल रहेका छन् । राजनीतिक दलसम्बन्धी अध्यादेश अनुसार प्रदेश र स्थानीय तहका जनप्रतिनिधिलाई दल रोज्न निर्वाचन आयोगले २२ गते साँझ ५ बजेसम्मको समय दिएको थियो । नेकपा एमालेका १२ सांसदले एकीकृत समाजवादी रोजेसँगै मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य अल्पमतमा परेकी छन् । अब प्रदेशको मुख्यमन्त्रीमा नेकपा (एकीकृत समाजवादी) का सांसद् राजेन्द्र पाण्डेले दाबी गर्ने भएको छ । १ सय ९ सदस्यीय प्रदेशसभामा एमालेका ५६ सांसद थिए । एकल बहुमत भएकाले भदौ २ गते डोरमणि पौडेलले राजीनामा दिएपछि शाक्य मुख्यमन्त्री बनेकी थिइन् । तर त्यही दिन एमाले फुटेर नेकपा समाजवादी एकीकृत दर्ताका लागि निर्वाचन आयोगमा निवेदन परेको थियो ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*