आगामी निर्वाचनमा एमालेसंग एक्लै लड्ने आँट कसैले गर्न सक्दैनः ओली
१२ भदौ, काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचनमा आफनो पार्टीसँग एक्लै लड्ने आँट कसैले पनि गर्न नसक्ने दावी गर्नु भएको छ ।
अध्यक्ष ओलीले एक्लै लडने आँट नभएपछि सत्तारुढ गठबन्धन चुनावी तालमेल गरेर जाने तयारी गर्न बाध्य भएको तर्क समेत गर्नु भयो । शनिबार नेकपा एमाले महालक्ष्मी नगर कमिटीले ललितपुरमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उहाँले एमालेसँग एक्लै चुनाव लडन कुनै पनि राजनीतिक दलहरुले नसक्ने कुरा सबैलाई थाहा भएको दावी समेत गर्नु भयो । अध्यक्ष ओलीले चुनावमा एमालेको प्रतिस्पर्धी हुने तर प्रतिस्पर्धा भने नहुने दावी समेत गर्नु भयो । आगामी निर्वाचनमा एमालेविरुद्ध मोर्चाबन्दी गर्ने कुरा आफूले सुनेको पनि उल्लेख गर्नुभयो ।अध्यक्ष ओलीले माधव नेपाललगायतका केही मान्छे पार्टीबाट चोईटिएर गएपनि चिन्ता गर्नुपर्ने अवस्था नरहेको पनि दोहो¥याउनु भयो । उहाँले जनादेशबाट नभई विभिन्न जालझेल गरेर आफूहरुलाई सत्ताबाट हटाएको उल्लेख गर्दै आगामी निर्वाचनमा त्यसको जवाफ दिनेगरी तयारी गर्न पनि पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिनु भयो । विचार नभएको, देशको विकास भनेको के हो ? भन्ने थाहा नै नभएकाहरु सत्तामा रहेको उल्लेख गर्दै उहाँले त्यस्ता षडयन्त्रकारीहरुलाई आफ्नो पार्टीले निर्वाचनबाटै एकमुष्ट जवाफ दिनुपर्ने बताउनु भयो । महासागरजस्तो एमाले पार्टीमा पौडी खेल्ने ठाउँ नभएर केही साथीले खाल्डो खनेको बताउँदै उहाँले पार्टीको केही साथीहरु प्रतिक्रियावादी र विदेशीको चङ्गुलमा परेर पार्टी विभाजन गरेको आरोप लगाउनुभयो ।