बागमती प्रदेशसभाको आठौँ अधिवेशन अन्त्य
११ भदौ, हेटौँडा । बागमती प्रदेश सरकारले प्रदेशसभाको आठौं अधिवेशन अन्त्य गरेको छ ।
शुक्रबार मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यको अध्यक्षतामा बसेको मन्त्रिपरिषद्को बैठकले संविधानको धारा १८३ को उपधारा २ बमोजिम प्रदेशसभाको अधिवेशन अन्त्य गरेको हो । शुक्रबार राति १२ बजेबाट प्रदेशसभाको वर्षे अधिवेशन अन्त्य गर्ने निर्णय गरेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ । मन्त्रिपरिषद्को बैठकको निर्णय अनुसार प्रदेश प्रमुख यादवचन्द्र शर्माले अधिवेशन अन्त्य भएको पत्रमा हस्ताक्षर गर्दै प्रदेशसभा सचिवालयलाई जानकारी गराउनु भएको छ । यसअघि तत्कालीन डोरमणि पौडेल नेतृत्वको प्रदेश सरकारले प्रदेशसभाको आठौं अधिवेशन जेठ १६ गतेबाट सुरु गरेको थियो । यस अधिवेशनमा सत्तारुढ नेकपा एमालेले पार्टी एकताका लागि सन्देश दिने भन्दै नीति तथा कार्यक्रम र बजेट सहमतिका साथ पास गरेको थियो । यसै अधिवेशनको भदौ २ गते एमाले संसदीय दलका तत्कालीन नेता तथा मुख्यमन्त्री पदबाट डोरमणि पौडेलले राजीनामा दिएका थिए । यसै अधिवेशनबाट एमाले उपाध्यक्ष शाक्य बहुमतका आधारमा पार्टी संसदीय दलको नेता र मुख्यमन्त्री बन्नु भएको थियो ।