ओली व्यक्तिवादमा डुबेपछि आफुहरु विद्रोह गर्न बाध्यः माधवकुमार नेपाल
१० भदौ, काठमाडौँ । नेकपा(एकीकृत समाजवादी)का अध्यक्ष माधव कुमार नेपालले आफ्नो पार्टीमा समाहित हुनका लागि एमालेका नेता, कार्यकर्ताहरुलाई आव्हान गर्नुभएको छ ।
बुधवार एमाले विभाजन गरी नेकपा(एकीकृत समाजवादी) गठन गर्नुभएका अध्यक्ष नेपालले बिहीवार पत्रकार सम्मेलनमा बोल्दै एमाले अध्यक्ष केपी शर्मा ओलीको भ्रमबाट मुक्त हुँदै आफुहरुको क्रान्तिकारी धारमा समाहित हुन एमाले नेता, कार्यकर्ताहरुलाई आव्हान गर्नुभएको हो । उहाँले ओली दक्षिणपन्थी भासमा भासिएको, राष्ट्रियताको सुदृढिकरण गर्न नसकेको, सरकार सञ्चालनमा असफल भएको, संसद विघटन गरी प्रतिगामी कदम चालेको तथा तत्कालिन नेकपा र नेकपा(एमाले) विभाजनमा उद्यत रहेको भन्दै ओली गुटको भ्रमबाट मुक्त भई छुटकारा पाउन आफ्नो पार्टीमा आउन उहाँको आग्रह छ । अध्यक्ष नेपालले केपी शर्मा ओलीले माक्र्सवादी मुल्य, मान्यतालाई तिलाञ्जली दिदैँ व्यक्तिवादमा डुबेपछि आफुहरु विद्रोह गर्न बाध्य भएको बताउनुभयो । पार्टीलाई नीजि कम्पनीजस्तो बनाएको, जनताको बहुदलीय जनवादको मुल्य मान्यता त्यागेको तथा आफु पक्षीय नेताहरुलाई एमालेबाट निष्काशन गरेपछि त्यसकाविरुद्ध विद्रोह गर्नुको विकल्प आफुहरुसँग नभएको उहाँले स्पष्ट पार्नुभयो । अध्यक्ष नेपालले पार्टी विभाजनमा आफ्ना केही सहयोद्धाहरुले साथ नदिएकोमा कुनै गुनासो नभएको प्रतिक्रिया दिनुभयो । लामो यात्रामा जाँदाखेरी केही साथीहरु बिचैमा थाकेको भन्दै उहाँले फेरी पनि ति सहयोद्धाहरु समावेश हुनसक्ने बताउनुभयो । अहिले आफुलाई साथ नदिएका नेताहरुकै अग्रसरतामा विगतमा निर्वाचन आयोगमा पार्टी दर्ता भएको समेत उहाँले उल्लेख गर्नुभयो । अध्यक्ष नेपालले सबै वामपन्थी, लोकतान्त्रिक शक्तिसँग सहकार्य गरेर अगाडी बढ्ने बताउनुभयो । सञ्चारकर्मीहरुको प्रश्नको जवाफ दिदैँ अध्यक्ष नेपालले आफुहरु वर्तमान सत्ता गठबन्धनमा सहभागी भएको भन्दै सरकारमा जानेपनि बताउनुभयो । उहाँले आफुहरु विद्रोही चेतका साथ अगाडी बढ्ने बताउनुभयो । पुरानो लिकमा नजाने भन्दै अध्यक्ष नेपालले ओलीको संस्कार भन्दा भिन्न संस्कारको पार्टी बनाउने बताउनुभयो । आफुहरुको पार्टी माक्र्सवाद र जनताप्रति सर्मपित हुने उहाँले उल्लेख गर्नुभयो ।