पहिलाको अध्यादेश र अहिलेको अध्यादेशको उद्देश्य नै फरकः अध्यक्ष ओली

स्वर्णिम खबर
९ भाद्र २०७८, बुधबार १५:१०

९ भदौ, काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ‘देश जोगाउनका लागि सरकारले अध्यादेश ल्याएको’ भन्ने सत्तारुढ नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालको भनाईप्रति आपत्ति जनाउनु भएको छ ।
अध्यक्ष ओलीले अहिलेको सरकारले देश जोगाउनका लागि अध्यादेश ल्याएको भनेर अध्यक्ष दाहालले बिल्कलै झूट बोलेको दावी गर्दै देशका अगाडि बेइमानपूर्ण कुरा नगर्न पनि चेतावनी दिनु भयो । बुधबार मुलुकको पछिल्लो राजनीतिक घटनाक्रमलगायतका विषयमा पत्रकार सम्मेलन गरी उहाँले पहिला आफूले जारी गरेको अध्यादेश र अहिले सरकारले जारी गरेको अध्यादेशको उद्देश्य र मनसायनै फरक रहेको दावी समेत गर्नु भयो । आफ्नो पार्टी फुटाउनका लागि ल्याएको अध्यादेशलाई देश जोगाउनका लागि भन्ने ? अध्यक्ष ओलीको प्रश्न थियो । अध्यक्ष ओलीले वर्तमान सरकारले कामै नगर्ने दावी समेत गर्नु भयो । आफू नेतृत्वको सरकारलाई कामै गर्न नदिएको दावी गर्दै उहाँले वर्तमान सरकार आफैले विकास निर्माणको काम ठप्प पारेको बताउनु भयो । अध्यक्ष ओलीले दीर्घकालीन खालका आयोजनाहरुको काम अघि नबढाउन सरकारले परिपत्र गरेको उल्लेख गर्दै आक्रोश समेत व्यक्त गर्नु भयो । उहाँले मेलम्ची खानेपानीको आयोजना आगामी बैशाख भित्र काठमाडौं ल्याउने कुरा गरेपनि सरकारले सोही अनुसारको काम अघि बढाउन नसकेको पनि स्पष्ट पार्नु भयो । अध्यक्ष ओलीले माधव नेपालसहितका पार्टीले निश्कासन गरेका १४ जना सांसदहरुलाई कारबाही गरेको सूचना जारी नगरेको भन्दै सभामुख अग्नीप्रसाद सापकोटाको चर्को आलोचना गर्नु भयो । उहाँले पार्टीले निश्कासन गरेका आफ्ना सांसदहरुको मुद्दा विचाराधिन छ भनेर सभामुख सापकोटाले राजनीतिलाई गिजोल्ने काम गरेको भन्दै आक्रोश व्यक्त गर्नु भयो । सभामुख सापकोटाले पक्षधरताको राजनीतिमा हात हाल्ने काम गरेको अध्यक्ष ओलीको दावी छ । अध्यक्ष ओलीले माधव नेपाललाई पार्टी फुटाउन सहज बनाउनका लागि सरकारले कानुन बनाउने काम गरेको भन्दै आक्रोश व्यक्त गर्नु भयो । उहाँले लोकतन्त्रका लागि लडेका प्रधानमन्त्री शेरबहादुर देउवाले एउटा व्यक्तिका लागि कानुन बनाउने जस्तो काम गरेकोमा आफू आश्चर्य चकित भएको टिप्पणी समेत गर्नु भयो । अध्यक्ष ओलीले देश र जनताका लागि आवश्यक पर्दा मात्रै अध्यादेश ल्याउनुपर्ने संवैधानिक व्यवस्था रहेपनि वर्तमान सरकारले त्यस विपरित काम गरेको पटक पटक दोहो¥याउनु भयो ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*