नयाँ पार्टी दर्ता गर्नुको विकल्प थिएनः माधवकुमार नेपाल

स्वर्णिम खबर
८ भाद्र २०७८, मंगलवार १८:४२

८ भदौ, काठमाडौँ । प्रस्तावित नेकपा(एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले एमाले अध्यक्ष केपी शर्मा ओलीले एमाले पार्टीमा ढोका बन्द गरिदिएपछि बाध्य भएर नयाँ पार्टी खोल्नु परेको बताउनुभएको छ ।
अध्यक्ष नेपालले मंगलवार चन्द्रागिरीमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गरेको र आफुहरुलाई पार्टीबाट निष्काशन गरेका कारण बाध्य भएर नयाँ पार्टी खोल्नुपरेको बताउनुभएको हो । आफु लगायतका १४ सांसदलाई पार्टीबाट निष्काशन गरेपछि आफुहरु सँग नयाँ पार्टी दर्ता गर्नुको विकल्प नरहेको उहाँले बताउनुभयो । अध्यक्ष नेपालले आफुहरुसँग एमाले विभाजनका लागि आवश्यक २० प्रतिशत संख्या भन्दाबढी केन्द्रीय कमिटी र संसद दुवैतिर पुग्ने दाबी पनि गर्नुभयो । उहाँले एमाले एकिकृत बनाउन भन्दै वार्तामा जुटेका र वार्तामा नजुटि भुमिका खेलेका नेताहरुसँग पनि एकतावद्ध भएर जाने कोसिस गरिरहेको उल्लेख गर्नुभयो । केपी ओली र आफुहरुको कित्ता छुट्टीएको उल्लेख गर्दै उहाँले आगामी दिनमा अन्य वामपन्थी पार्टीहरुसँग चुनावी तालमेल गर्न तयार रहेको बताउनुभयो । अध्यक्ष नेपालले एमाले अध्यक्ष ओलीको विचार र धारणामा परिवर्तन आएमा पार्टी गठन गर्ने बित्तिकै ओलीसँग पनि एकताको निम्ति तयार रहेको बताउनुभयो । उहाँले आफुहरुलाई पार्टी गठन गर्न नदिएर घर न घाटको बनाउने षडयन्त्र भएको भन्दै षडयन्त्रलाई चिरेर पार्टी निर्माण गर्ने पनि बताउनुभयो । उहाँले बागमती प्रदेशको मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य आफुसँग सल्लाह गरेर नै मुख्यमन्त्री बनेको बताउनुभयो । आफ्नो सल्लाहमा मुख्यमन्त्री बनेको भएपनि नयाँ पार्टी गठन पछाडी प्रदेश र स्थानीय तहको जनप्रतिनिधिले २१ दिनभित्र राजनीतिक पार्टी रोज्न पाउने कुरा उल्लेख गर्दै उहाँले शाक्यले कुन पार्टी रोज्नुहुन्छ सोही आधारमा बागमती प्रदेश सरकारलाई आफुहरुले कसरी हेर्ने भन्ने तय हुने बताउनुभयो । नेपालमा समाजवादी केन्द्र बनाउने बहसका विच पार्टीको नाम समाजवादी राखेको विषयमा सञ्चारकर्मीहरुले राखेको जिज्ञासाको जवाफ दिदैँ अध्यक्ष नेपालले आफुहरुले कम्युनिष्ट पार्टी नत्याग्ने स्पष्ट पार्नुभयो । नेपाल कम्युनिष्ट पार्टीको नामलाई त्याग्ने कसैसँग पनि एकता सम्भव नभएको उहाँले बताउनुभयो ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*