पहिला विरोध गर्नेहरुले अहिले अध्यादेश ल्याउँदा लोकतान्त्रिक कसरी भयो? : बिष्णुप्रसाद प्रसाई
५ भदौ, हेटौँडा । बागमती प्रदेशका निवर्तमान प्रदेश प्रमुख बिष्णुप्रसाद प्रसाईले वर्तमान सरकार गैर जिम्मेवार ढंगले अगाडि बढेको बताउनुभएको छ ।
प्रदेश प्रमुख हटाइएपछि शनिबार हेटौँडामा सम्मेलन गर्दै निवर्तमान प्रदेश प्रमुख प्रसाईले सरकारले ल्याएको दल विभाजन सम्बन्धी अध्यादेशको कडा रुपमा आलोचना गर्नुभयो । ओली सरकारले अध्यादेश ल्याउँदा प्रतिगमन भयो भन्दै विरोध गर्नेहरुले अहिले अध्यादेश ल्याउँदा कसरी लोकतान्त्रिक भयो भन्दै उहाँले प्रश्न गर्नुभयो । वर्तमान सरकारको काम कारवाहीले राम्रो संकेत नदिएको पनि उहाँले जिकिर गर्नुभयो । संघीय सरकार परिवर्तन हुने बित्तिकै प्रमुख प्रमुख नियुक्त गर्ने र हटाउने प्रवत्ति प्रति निवर्तमान प्रदेश प्रमुख प्रसाईले असन्तुष्टि व्यक्त गर्नुभयो । प्रदेश प्रमुख रहँदा प्रदेशसभा र प्रदेश सरकारसंग सहकार्य गरेर काम गरेको उहाँले दाबी गर्नुभयो । पदमा रहँदा वा नरहँदा समृद्ध नेपाल, सुखी नेपालीको भूमिकामा आफु सधै रहिरहने समेत निवर्तमान प्रदेश प्रमुख प्रसाईले वताउनुभयो । प्रदेश प्रमुखको रुपमा २१ महिना १६ दिन काम गर्दा सफलता पूर्वक भूमिका निर्वाह गरेको वताउनुभयो । शेरबहादुर देउवा नेतृत्वको सरकारले प्रसाईलाई बागमती प्रदेशको प्रमुखबाट हटाएर माधव नेपाल पक्षका यादवचन्द्र शर्मालाई नियुक्त गरेको थियो ।