एमाले विभाजन भएको होइन, चोइटिएको मात्र होः केपी ओली

स्वर्णिम खबर
३ भाद्र २०७८, बिहीबार १९:४१

३ भदौ, काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा एमाले विभाजन नभएको बताउनुभएको छ ।
एक अन्तर्वार्तामा अध्यक्ष ओलीले एमाले विभाजन भइ चोइटिएको वा टुक्रिएको बताउनुभयो । ५१ वर्षअघिदेखि आफूले कम्युनिष्ट एकतामा जोड दिएको स्मरण गर्दै ओलीले पार्टी एकताको कोसिस नै गरेन भन्नु पुर्वाग्रही र गलत कुरा भएको बताउनुभयो । प्रदेश–प्रदेशमा पार्टीभित्र अन्तर्विरोध गर्दै विश्वासको मत नदिने, एमालेको सरकार भत्काउने अवस्था आउँदा–आउँदै आफूले कारबाही नगरेको स्मरण गर्दै ओलीले आफूले एमाले जोगाउन भरपुर प्रयास गरेको जिकिर गर्नुभयो । पार्टीभित्र र बाहिर पार्टीलाई घात गर्ने काम नगरेको बताउँदै उहाँले आफूले सधैँ निष्ठाको कुरा गर्ने गरेको बताउनुभयो । पूर्व प्रधानमन्त्री ओलीले संसद छलेर छापामार शैलीमा अध्यादेश ल्याएको भन्दै प्रधानमन्त्री शेरबहादुर देउवाको आलोचना समेत गर्नुभयो । एमाले विभाजन गर्ने गलत बदनियतका साथ अध्यादेश ल्याएको र यो सर्वोच्च अदालतको फैसला विपरीत भएको उहाँले बताउनुभयो ।यस्तै अध्यक्ष ओलीले माधव नेपाल लगायत १४ सांसदलाई कारवाही नगरे सभामुख अग्नि सापकोटालाई काम गर्न नदिने चेतावनी समेत दिनुभयो । उहाँले सभामुखले माओवादी कार्यकर्ता भएर एमाले फुटाउने षड्यन्त्रमा सामेल भएको आरोप लगाउनुभयो । अध्यक्ष ओलीले सभामुख सापकोटाले सभामुख पदमा रहिरहने कि माओवादी कार्यकर्ता बन्ने रोज्नुपर्ने बताउनुभयो । प्रतिनिधिसभामा एमालेसँग अहिले पनि १०० भन्दा बढी सांसद रहेको ओलीले दाबी गर्नुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*