एमाले समाजवादीको सनाखत हुने बित्तिकै एकैदिनमा मन्त्रिपरिषद् विस्तारः प्रचण्ड

स्वर्णिम खबर
३ भाद्र २०७८, बिहीबार १५:५१

३ भदौ, काठमाडौं । नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माधवकुमार नेपालले गठन गरेको नयाँ पार्टीको सनाखत हुन बित्तिकै मन्त्रिपरिषद् बिस्तार हुने बताउनुभएको छ ।
बिहीवार समाजवादी केन्द्र, नेपालले आयोजना गरेको ‘एक्काइशौं शताब्दीको माक्र्सवाद र समाजवाद’ विषयक अन्तरक्रियामा बोल्दै अध्यक्ष प्रचण्डले नेता माधवकुमार नेपालले दर्ता गरेको नयाँ पार्टीको सनाखत हुनासाथ एकैदिनमा मन्त्रिपरिषद् बिस्तार हुने बताउनुभएको हो । यसका लागि प्रधानमन्त्री शेरबहादुर देउवा, नेता नेपाल र आफुविच बिहीवार बिहानको भेटमा समझदारी बनिसकेको पनि उहाँले उल्लेख गर्नुभयो । उहाँले विगतमा केपी शर्मा ओलीले लोकतन्त्र, संविधान र गणतन्त्र सिध्याउन अध्यादेश ल्याएको भएपनि वर्तमान सरकारको अध्यादेश ल्याउनु उद्देश्य लोकतन्त्र, गणतन्त्र र संविधानको रक्षा गर्नु रहेको बताउनुभयो । अन्तरक्रियामा बोल्दै जनता समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले नयाँ समाजवादको मोडल खोज्नुपर्ने आवश्यकता रहेको औँल्याउनुभयो । नेताहरुले पुराना पार्टीको चुनाव चिन्ह छोड्न गाह्रो मानेको भन्दै उहाँले क्षणिक पार्टीगत र चुनावी स्वार्थ भन्दा माथि उठेर समाजवादी केन्द्र बनाउनुपर्नेमा जोड दिनुभयो । उहाँले चुनावी स्वार्थभन्दा माथि उठेर विश्व मानव जाति र देशका जनताको हितलाई केन्द्रमा राखेर समाजवादको नयाँ नीति तथा कार्यक्रम बनाउनुपर्नेमा जोड दिनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*