बागमती प्रदेशकी मुख्यमन्त्री शाक्यद्वारा शपथ ग्रहण, दुई सदस्यीय मन्त्रिपरिषद् विस्तार
३ भदौ, हेटौँडा । नेकपा एमाले बागमती प्रदेश संसदीय दलकी नेता अष्टलक्ष्मी शाक्यले बागमती प्रदेशको मुख्यमन्त्रीको पद तथा गोपनियताको शपथ लिनुभएको छ ।
बुधबार राति एक समारोहकाबीच प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईले नवनियुक्त मुख्यमन्त्री शाक्यलाई शपथ ग्रहण गराउनुभएको हो । कार्यक्रममा निवर्तमान मुख्यमन्त्री डोरमणि पौडेल सहित प्रदेशका मन्त्रीहरूको उपस्थिति रहेको थियो । बुधबार दिउँसो डोरमणी पौडेलले संसदीय दलको नेता र मुख्यमन्त्रीबाट राजीनामा दिएपछि एमाले बागमती प्रदेश संसदीय दलको बैठकले शाक्यलाई संसदीय दलको नेतामा सर्बसम्मत चयन गरेको थियो । यसैबीच मुख्यमन्त्री शाक्यले हिजै दुई सदस्यीय मन्त्रिपरिषद् विस्तार गर्नुभएको छ ।उहाँले सामाजिक विकास मन्त्रीमा कृष्णप्रसाद शर्मा खनाल र आन्तरिक मामिला तथा कानुनमन्त्रीमा केशवराज पाण्डेलाई नियुक्त गर्नुभएको हो । मुख्यमन्त्री डोरमणि पौडेलको सरकारमा पनि आन्तरिक मामिला तथा कानुनमन्त्री रहनुभएका पाण्डेलाई भौतिक पूर्वाधार तथा विकासमन्त्रीको पनि जिम्मेवारी दिइएको छ ।