अफगानिस्तानमा रहेका नेपालीहरुको छिटो उद्धार गर्न सरकारको निर्देशन
३२ साउन, काठमाडौं । सरकारले अफगानिस्तानमा रहेका नेपालीहरुलाई छिटोभन्दा छिटो सकुशल उद्धार गर्न सम्बन्धित निकायलाई निर्देशन दिएको छ ।
सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रीपरिषद बैठकले अफगानिस्तानमा विकसित घटनाप्रति गम्भिर चासो लिँदै त्यहाँ रहेका नेपाली नागरिकलाई छिटो भन्दा छिटो सकुशल उद्धार गर्न सम्बन्धित निकायलाई निर्देशन दिएको हो । विद्रोही तालिवानले राज्य सत्ता कब्जामा लिएपछि अफगानिस्तानमा रहेका विदेशी नागरिकहरुको ज्यान जोखिममा परेको छ । त्यस घटनाप्रति गम्भिर चासो लिँदै त्यहाँ रहेका नेपालीहरुलाई छिटोभन्दा छिटो सकुशल उद्धार गर्न सम्बन्धित निकायलाई निर्देशन दिइएको सरकारका प्रवक्ता एवम् कानुन, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिनु भयो । बैठकले बेलायतको लन्डनमा जारी भूतपूर्व ब्रिटिस गोर्खा सैनिकहरुको आमरण अनसनलगायतका विरोधमा कार्यक्रम फिर्ता लिन पनि आह्वान गरेको छ । उनीहरुका ती माग कूटनीतिक पहलमार्फत् सम्बोधन गर्ने प्रतिवद्धता जनाउँदै नेपाल सरकारले भूतपूर्व ब्रिटिस गोर्खा सैनिकहरुको लन्डनमा जारी आमरण अनसनसहितको विरोधको कार्यक्रम फिर्ता लिन आह्वान गरिएको प्रवक्ता कार्कीले बताउनु भयो । सरकारले उनीहरुको माग सम्बोधन गराउन कूटनीतिक पहल सुरु गरिएको पनि स्पष्ट पारेको छ ।