सांसद मातृका यादवको अभिव्यक्ति रेकर्डबाट हटाउन सभामुखको रुलिङ
२९ साउन, काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले सांसद मातृका प्रसाद यादवले बिहीवारको प्रतिनिधि सभा बैठकमा बोल्नुभएको केही शब्दहरु हटाउन रुलिङ गर्नुभएको छ ।
शुक्रवारको प्रतिनिधि सभा बैठकमा सभामुख सापकोटाले बिहीवारको बैठकमा सांसद यादवले बोल्ने क्रममा प्रयोग गरेको शब्द प्रतिनिधि सभा नियमावलीको नियम २१को खण्ड(ङ) को प्रतिकुल हुने देखिएको भन्दै सो शब्द सचिवालयको रकर्डबाट हटाउन रुलिङ गर्नुभएको हो । शुक्रवारको बैठकमा नेकपा(माओवादी केन्द्र)का सांसद मातृका यादवले नेकपा एमालेका अध्यक्ष तथा पुर्व प्रधानमन्त्री केपी शर्मा ओली मेन्टली र फिजिकली ठिक नभएको बताउनुभएको थियो । सभामुखले रुलिङ गर्नुअघि नेकपा(एमाले)का प्रमुख सचेतक विशाल भट्टराईले संसद निम्छरा शब्दहरु प्रयोग गर्ने ठाउँ नभएको भन्दै संसदको इज्जत र प्रतिष्ठा बचाउनका लागि यादवले प्रयोग गरेको असंसदीय र अमर्यादित शब्दहरु रेकर्डबाट हटाउन माग गर्नुभएको थियो । प्रमुख सचेतक भट्टराईले केपी शर्मा ओली सत्ताबाट बाहिरिइसकेपछि पनि संसदमा सत्ता पक्ष जस्तो ठानिएको र गालीको केन्द्रविन्दू बनाइएको भन्दै त्यस खालका गतिविधिहरु बन्द गरी संसदलाई मर्यादित बनाउन समेत ध्यानाकर्षण गराउनुभयो ।