संघीय सरकारका कारण प्रदेशले कानुन बनाउन सकेनः केशव राज पाण्डे
२८ साउन, हेटौँडा । बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री केशव राज पाण्डेले संघीय संसदले विभिन्न कानूनहरु नबनाएका कारण प्रदेश कानून बनाउन समेत अप्ठ्यारो परेको बताउनुभएको छ ।
बिहीवार ‘संघ, प्रदेश र स्थानीय तहको समन्वयका लागि प्रदेश सभा र समितिको भुमिका’ विषयक अन्तरक्रियामा बोल्दै मन्त्री पाण्डेले प्रतिनिधि सभा र राष्ट्रिय सभामा विभिन्न विधेयकहरु थन्क्याएर राखिएकोप्रति असन्तुष्टि जनाउँदै संघीय सरकारले विभिन्न कानूनहरु नबनाउँदा प्रदेश सरकारले समेत कानून बनाउन नसकेको बताउनुभएको हो । प्रदेश कानून बनाउन नसक्दा आफुहरुलाई अप्ठ्यारो परेको पनि उहाँले उल्लेख गर्नुभयो । उहाँले संघीय सरकारले आफ्नो क्षेत्रमा बजेट नपारेपछि संघीय सरकारका मन्त्री तथा सांसदहरु प्रदेश सरकारमा हस्तक्षेप गर्न आउने गरेको पनि बताउनुभयो । मन्त्री पाण्डेले संविधानत्ः स्थानिय तह प्रदेश सरकारले बनाएको कानून अनुसार सञ्चालन गर्नुपर्ने भएपनि संघीय सरकारले बनाएको कानून अनुसार नै चलिरहेको बताउनुभयो । स्थानीय तहले प्रदेश सरकारकै कानून मान्नुपर्ने उहाँले स्पष्ट पार्नुभयो ।