ओलीको दाबीः असाधारण जनमतका साथ फेरि प्रधानमन्त्री हुन्छु

स्वर्णिम खबर
२६ श्रावण २०७८, मंगलवार १९:११

२६ साउन, काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष एवम् निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले आफू फेरि असाधारण जनमतका साथ प्रधानमन्त्री हुने दावी गर्नु भएको छ ।
आफूलाई अघिल्लो पटक र अहिले पनि जालझेल, षडयन्त्र, तिकडम, अपवित्र गठबन्धनबाट हटाएको उल्लेख गर्दै निवर्तमान प्रधानमन्त्री ओलीले फेरी असाधारण शक्तिका साथ मूल ढोकाबाट शक्तिमा आउने बताउनु भएको हो । मंगलबार प्रतिनिधिसभाको बैठकमा सम्बोधन गर्दै उहाँले आफूलाई कामै गरेर जनताले प्रधानमन्त्री बनाएको पनि बताउनु भयो । अध्यक्ष ओलीले प्रधानमन्त्री शेरबहादुर देउवा जाली मुद्धा जितेर प्रधानमन्त्री भएको दावी समेत गर्नु भयो । स्वार्थहरुको गठजोडबाट बनेको सरकारले मुलुकको विकासको अभियानलाई अघि बढाउनै नसक्ने उहाँको तर्क थियो । अध्यक्ष ओलीले सरकारको साझा न्यूनतम कार्यक्रममा एमसीसीबारे किन उल्लेख नगरेको भनेर प्रधानमन्त्री देउवालाई प्रश्न गर्नु भयो । अध्यक्ष ओलीले एमसीसीबारे सरकार चुप लागेर बस्न नमिल्ने पनि बताउनु भयो । उहाँले आफ्नै पार्टीका नेताहरु मन्त्रीका लागि कुदेको उल्लेख गर्दै मन्त्री बनाईदिन प्रधानमन्त्री देउवालाई आग्रह समेत गर्नु भयो । सम्बोधनको क्रममा पूर्व प्रधानमन्त्री ओलीले आफू नेतृत्वको सरकारले कोरोनाविरुद्धको खोप थुपारेको दावी गर्दै छिटो वितरण गर्न सरकारलाई दवाव समेत दिनु भयो । फागुनमा स्थानीय तहको निर्वाचन रोक्नका लागि चैत्रसम्ममा मात्रै सबै नागरिकलाई खोप उपलब्ध गराउने हो भनेर सरकारले भनेको आरोप समेत उहाँले लगाउनु भयो । अध्यक्ष ओलीले प्रतिपक्षलाई गाली गरेर नबस्न पनि सरकारलाई चेतावनी दिनु भयो । प्रधानमन्त्री पदबाट हटेपछि पहिलो पटक संसद्मा बोल्नु भएको ओलीले आफू प्रधानमन्त्रीबाट हटेकोमा चिन्ता नभएको पनि बताउनु भयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*