एसईईको नतिजाप्रति राष्ट्रिय परीक्षा बोर्ड अध्यक्षको असन्तुष्टि
२४ साउन, काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष चन्द्रमणी पौडेलले विद्यार्थीको आन्तरिक मूल्यांकनबाट बोर्डमा नम्बर पठाउने परिपाटीले शिक्षा क्षेत्रमा विकराल रुप ल्याउने बताउनुभएको छ ।
अध्यक्ष पौडेलले आन्तरिक मूल्यांकनबाट विद्यार्थीको नतिजा प्रकाशन गर्दा निरक्षर मानिसले पनि हाईस्कूल पढेको सर्टिफिकेट पाउने अवस्था आउने बताउनुभएको हो । उहाँले शिक्षकलाई सुधारिएका विषयहरुको तालिम नदिनुले पनि उचित किसिमको मूल्यांकन हुन नसक्ने बताउनुभयो । विद्यार्थीहरुमा पनि पढेपनि पास र नपढेपनि पास भन्ने पारिपाटीले भविष्यमा मुलुकलाई ठूलो क्षति हुने उहाँले बताउनुभयो । शिक्षक र विद्यार्थीको भेट नै नभएको अवस्थामा नम्बर दिनुपर्ने बाध्यता रहेको अध्यक्ष पौडेलले बताउनु भयो । उहाँले परीक्षा बोर्डले को कस्तो विद्यार्थी भनेर नचिनेको २ वर्ष भइसकेको टिप्पणी गर्नुभयो । उहाँले आन्तरिक मूल्यांकनबाट गरिएको नतिजा प्रकाशनले बोर्डलाई अपजस मात्र आउने बताउनुभयो । उहाँले आन्तरिक मूल्यांकनले दिने नतिजाले अपजस भन्दा पनि धेरै विकराल हुने समेत बताउनुभयो । यसले देशको शिक्षा प्रणाली र मुलुकको विकाश प्रक्रियामा गम्भीर असर पार्ने बताउनुभयो । यसको पहिलो जिम्मेवारी देश भएकोले राजनैतिक नेतृत्वहरुले बेलैमा नसोच्ने हो भने यसबाट देश र समाजलाई ठूलो क्षति हुने धारणा व्यक्त गर्नुभयो । त्यसैगरी उहाँले कक्षा १२ को परीक्षा बोर्डले गर्न चाहेर पनि सरकारको निर्देशनका कारण हुन नसकेको बताउनुभयो । न्यूज एजेन्सी नेपाल सँगको कुराकानीमा अध्यक्ष पौडेलले देशैभरि परीक्षा संचालन हुने केन्दहरुमा स्वास्थ्य सावधानी र थप मापदण्ड बनाएर परीक्षा संचालन गर्न सकिने विश्वाश ब्यक्त गर्नुभयो । कोरोनाको संक्रमणको जोखिमको कारणले यस अघि कक्षा १२ को परीक्षा दुई–दुई पटक रोकिएको उहाँले बताउनुभयो । बोर्डले परीक्षाका लागि सम्पूण तयारी गरेको भएपनि एमसीसीले मन्त्रालयमार्फत् परीक्षा हालका लागि स्थगित गर्ने निर्देशन दिएपछि परीक्षा रोकिएको उहाँले जनाउनुभयो ।यस वर्ष कक्षा १२ को परीक्षा जेठमा हुने भनिएको परीक्षा आउँदो साउन ३१ गतेबाट हुने भनि तोकिएको थियो । गत वर्ष पनि कोरोना भाइरसका कारण कक्षा १२ को परीक्षा मंसिरमा सञ्चालन भएको थियो ।