बागमती प्रदेशका दुई मन्त्रीद्वारा पहिरो प्रभावित क्षेत्रको स्थलगत निरीक्षण
२२ साउन, हेटौँडा । बागमती प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्री केशव पाण्डे, तथा सामाजिक बिकास मन्त्री सरस्वती बस्नेतले दोलखा जिल्लाको कालिन्चोक गाउँपालिका ५ स्थिति लापिलाङमा पहिरोको स्थलगत निरीक्षण गुर्नभएको छ ।
शुक्रबार मन्त्रीद्धयले सामुहिक रुपमा दोलखाको कालिन्चोक स्थित घट्टेखोलाको वरिपरि गएको ठूलो रानीबन पहिरोको स्थलगत निरीक्षण गर्नुभएको हो । पहिरोको निरीक्षण र स्थानीयसँग साक्षात्कार पश्चात मन्त्रीहरुलाई वडा नं ५ का अध्यक्ष सुबास थामीले पहिरोको तत्कालीन तथा दीर्घकालीन समाधानको मागपत्र सहित ध्यानाकर्षण पत्र बुझाउनुभएको थियो । पत्र बुझ्दै मन्त्रीहरुले तत्काल प्रतिपरिवार राहत स्वरुप २५ हजार र घर निर्माणका लागि प्रतिपरिवार ४ लाख दिने प्रदेश सरकारको निति भएकोले बस्ती स्थानान्तरणका लागि तत्काल सुरक्षित स्थान पहिचान गर्न स्थानीय सरकारलाई निर्देशन दिएका छन् । । गतबर्ष बर्षातमा शुरु भएको पहिरोले ९ घर बगाएको थियो । यस बर्ष पनि पहिरो थपिएपछि लापिलाङ गाउँ नै जोखिममा परेको स्थानीयले बताएका छन् । पहिरोले हालसम्म कुनै मानवीय क्षति नभए पनि यस वडाका करिब सय परिवार जोखिममा परेका छन् । अवलोकनमा आन्तरिक मामिला मन्त्री तथा सामाजिक बिकास मन्त्रीको साथै प्रदेश निति तथा योजना आयोगका उपाध्यक्ष श्याम बस्नेत, प्रदेश सांसद जुनेली श्रेष्ठ, दोलखा जिल्ला समन्वय सभापति डबल पाण्डे, प्रमुख जिल्ला अधिकारी बासुदेब घिमिरे, कालिन्चोक गाउँ पालिका उपाध्यक्ष कालिका पाठक लगायतकोे सहभागीता थियो ।