एक सय ४ वर्ष पुरानो चुरियामाई सुरुङमार्ग पुर्ननिर्माण गर्न शिलान्यास

स्वर्णिम खबर
१४ श्रावण २०७८, बिहीबार १७:२०

१४ साउन, हेटौँडा । हेटौंडा उपमहानगरपालिका वडा नम्बर १५ चुरीयामाईमा रहेको एक सय ४ वर्ष पुरानो जिर्ण सुरुङको पुन निर्माणका लागि बिहिबार शिलान्यास गरिएको छ ।
बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले सुरुङको पुन निर्माण गर्न शिलान्यास गर्नुभयो । मकवानपुर र बाराको सिमानमा रहेको चुरीयामाई सुरुङलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्नका लागि प्रदेश सरकारको यातायात पुर्वाधार निर्देशनालय हेटौंडाले ठेक्का लगाइसकेको छ । नेपाललाई संसारभर चिनाउन मद्धत गर्ने हेटौंडास्थित पहिलो सुरुङको पुनर्निर्माण सुरु गर्ने शिलान्यास गरिएको हो । शिलान्यास कार्यक्रममा बोल्नुहुँदै मुख्यमन्त्री पौडेलले यो सुरुङले इतिहासलाई बचाउने मात्र नभई अध्ययनको विषय पनि वनाउने बताउनुभयो । उहाँले यस क्षेत्रमा राम्रो खालको पर्यटकिय क्षेत्रको विकास गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो । कार्यक्रममा मुख्यमन्त्री पौडेलले सुरुङमार्ग पुर्ननिर्माणको काम तोकिएको समयमा नै सम्पन्न गर्न निर्माण व्यवसायी कम्पनीलाई निर्देशन समेत गर्नुभयो । निर्माण व्यवसायीले तोकिएको समयमा निर्माणको काम सम्पन्न नगर्दा विभिन्न समयमा प्रदेश सरकार आलोचित बन्नुपरेको भन्दै उहाँले पुर्ननिर्माणको काममा केही समस्या परे प्रदेश सरकारले सहयोग गर्ने बताउनुभयो । यातायात पूर्वाधार निर्देशनालयले तीन करोड ३६ लाख १३ हजार रुपैयाँ लागतमा निर्माण गर्नका लागि माउन्टेनइन्फ्रा कम्पनी लिमिटेड काठमाण्डौले सम्झौता गरेर काम थाल्न लागेको निर्देशक डाक्टर सहदेब बहादुर भण्डारीले वताउनुभयो । सन् १९१७ मा दक्षिण एसियाकै मानवनिर्मित पहिलो सुरुङ चुरियामाई सुरुङ बनेको थियो । श्री ३ चन्द्रशमशेरको पालामा नेपाली इञ्जिनियर डिल्लीजंग थापाले इञ्जिनियरिङ गरेको सुरुङलाई सम्पदाका रुपमा संरक्षणका लागि पुनर्निर्माण गर्न थालिएको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*