स्वास्थ्य मापदण्ड पालना गराएर मात्रै परीक्षा लिने व्यवस्था मिलाउन मन्त्रालयलाई निर्देशन

स्वर्णिम खबर
१३ श्रावण २०७८, बुधबार १६:५९

१३ साउन, काठमाडौं । संसदीय समितिले स्वास्थ्य मापदण्ड पालना गराएर मात्रै परीक्षा लिने व्यवस्था मिलाउन शिक्षा मन्त्रालयलाई निर्देशन दिएको छ ।
संघीय संसद प्रतिनिधिसभा अन्तर्गतको शिक्षा तथा स्वास्थ्य समितिले कोभिड–१९ संक्रमणका बीचमा भइरहेका र हुन लागेका परीक्षामा दूरी कायम गराउनुको साथै स्वास्थ्य मापदण्डको पूर्ण पालना गरी परीक्षा लिने वातावरण मिलाउन शिक्षा मन्त्रालयलाई निर्देशन दिएको हो । समितिले परीक्षामा बस्नुपूर्व सम्पुर्ण परीक्षार्थीको अनिवार्य रुपमा पिसिआर परीक्षण गर्ने व्यवस्था मिलाउन भनेको छ । संक्रमित परीक्षार्थीलाई छुट्टै कक्षामा राखेर परीक्षा दिने व्यवस्था मिलाउन पनि बैठकले निर्देशन दिएको छ । त्यसैगरी गम्भीर प्रकृतिका र अस्पतालमा उपचार गराईरहेका परीक्षार्थीलाई भने दोश्रो चरणमा परीक्षा दिने व्यवस्था मिलाउन भनेको छ । त्यसैगरी समितिले सबै परीक्षा केन्द्रमा डाक्टर, नर्स र सामान्य औषधीहरु उपलब्ध गराउन भनेको छ । बुधबार सिंहदरबारमा बसेको समितिको बैठकमा सभापति जगतपुरी घर्तीले सबै परीक्षार्थीलाई कोरोनाविरुद्धको खोप उपलब्ध गराउने तर्फ आवश्यक पहल र परामर्श गर्न पनि सरकारलाई निर्देशन दिनुभयो । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव रामप्रसाद थपलियाले मन्त्रालयले बनाएको कोभिड–१९ सम्बन्ध िनिर्देशिका अनुसार नै सबै परीक्षा सञ्चालन हुने विश्वास दिलाउनुभयो । मन्त्रालयले कक्षा १२ को परीक्षा गर्दा परीक्षा केन्द्रमा कम्तिामा २ मिटरको दूरी कायम गरी जेड आकारमा सिट कायम राखी परीक्षा लिने व्यवस्था मिलाएको पनि उहाँले जानकारी दिनुभयो । समिति सदस्य एवं पुर्व शिक्षा मन्त्री गिरिराज मणी पोखरेलले कोभिड १९ को बेलामा कक्षा १२ को परीक्षा गरेर शैक्षिक सत्र बचाएको बताउनुभयो । उहाँले महामारीको बेलामा धेरै देशले शैक्षिक सत्र कोल्याप्स गरेपनि नेपालले गरेको यो प्रयत्नलाई सकारात्मक लिनुपर्ने टिप्पणी गर्नुभयो । बैठकमा राष्ट्रिय परीक्षा बोर्डका सदस्य सचिव दुर्गा अर्यालले अभिभावको सुझाव र विद्यार्थीमा अध्ययनको क्षयीकरण रोक्नका लागि भएपनि भौतिक उपस्थितीमै परीक्षा सञ्चालन गरिने बताउनुभयो । सीसीएमसीको ९ बुँदे सुझाव सहितको स्वास्थ्य मापदण्ड अपनाएर परीक्षा सञ्चालन गर्ने निर्णय भएको उहाँले बताउनुभयो । सदस्य सचिव अर्यालले एसइइको नतिजा अन्तिम चरणमा पुगेको पनि जानकारी दिनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*