शाहिद अफ्रिदी काठमाडौं किंग्स इलाभेनबाट इपिएल खेल्ने
११ साउन, काठमाडौं । पाकिस्तानका पूर्व कप्तान शाहिद अफ्रिदीले आसोजमा हुने एभरेष्ट प्रिमियर लिग (ईपिएल) ट्वान्टी–२० क्रिकेट प्रतियोगितामा काठमाडौं किंग्स इलाभेनबाट खेल्ने भएका छन् ।
काठमाडौं किङ्स इलाभेले आज राजधानीमा एक कार्यक्रमको आयोजना गरी पाकिस्तानी क्रिकेटर नेपालमा हुने इपिएल प्रतियोगिता खेल्ने बताएको हो । काठमाडौंले अन्तराष्ट्रिय खेलाडीको रुपमा अफ्रिदीलाई अनुबन्ध गरेको हो । चौंथो संस्करणको इपिएल ट्वान्टी–२० क्रिकेट प्रतियोगिता असोज ९ गतेदेखि असोज २३ गतेसम्म कीर्तिपुर स्थित त्रिभुवन विश्व विद्यालयको मैदानमा आयोजना हुँदै छ । काठमाडौं किंग्स इलाभेनबाट खेल्न लागेका ४४ वर्षीय अफ्रिदीले पाकिस्तानका लागि सन १९९६ देखि २०१८ सम्म खेलेका थिए । पाकिस्तानका लागि २७ टेष्टमा १७ सय १६ रन र ४८ विकेट हात पारेका थिए । अफ्रिदीले ३ सय ९८ एकदिवसीयमा ८ हजार ६४ रन बनाउँदा ३ सय ९५ विकेट र ट्वान्टी–२० मा ९९ खेल खेल्दै १४ सय १६ रन र ९८ विकेट निकालेका छन् । यस अघि काठमाडौंले राष्ट्रिय टिमका लेग स्पिनर सन्दीप लामिछानेलाई अनुबन्ध गरिसकेको छ । प्रतियोगितालाई अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) र नेपाल क्रिकेट संघ (क्यान) ले मान्यता दिईसकेको छ । अघिल्लो वर्ष आयोजना गर्ने तालिका रहे पनि कोरोनाका कारण हुन सकेको थिएन । प्रतियोगितामा ६ शहरका फ्रेन्चाइज टिमले सहभागिता जनाउने छन् ।