देउवाप्रति ओलीको कटाक्षः कोरोना खोपलाई प्राथमिकता दिइरहन पर्दैैन

स्वर्णिम खबर
४ श्रावण २०७८, सोमबार १५:४६

४ साउन, काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री शेरबहादुर देउवाले कोभिड खोपलाई प्राथमिकता दिईरहन आवश्यक नरहेको प्रतिक्रिया दिनु भएको छ ।
प्रधानमन्त्री देउवाले विश्वासको मत लिने क्रममा कोभिड खोप लगाउने कामलाई प्राथमिकताका साथ अघि बढाउने बताउनु भएको थियो । निवर्तमान प्रधानमन्त्री ओलीले भने सबै नेपालीलाई पुग्ने गरी खोपको आवश्यक व्यवस्था आफू नेतृत्वको अघिल्लो सरकारले नै गरेकाले त्यसलाई प्राथमिकता दिईरहन आवश्यक नरहेको बताउनु भएको हो । ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा सोमबारबाट सुरु भएको पार्टीको केन्द्रिय कमिटी बैठकको शुभारम्भमा बोल्दै उहाँले केही पनि नभएको ठाउँबाट सबै नेपालीलाई लगाउन पुग्ने गरी कोभिड खोपको आवश्यक व्यवस्था आपूm नेतृत्वको अघिल्लो सरकारले मिलाएको दावी गर्नुभयो । अध्यक्ष ओलीले आफू नेतृत्वको अघिल्लो सरकारले बाढि, पहिरो र डुबान पीडितलाई पनि आवाससहित राहतको आवश्यक व्यवस्था मिलाएको दावी गर्नु भयो । आफू नेतृत्वको सरकारले देश र जनताका लागि गर्व गर्न लायक काम गरेपनि अन्य दलहरुले आफ्नो अस्तित्व रक्षाका लागि त्यसको विरोध गर्नु परेको उहाँको तर्क थियो । २०५१ सालमा मनमोहन अधिकारी नेतृत्वको आफ्नो पार्टीको सरकारले पनि सफलतापूर्वक काम गरेकै कारण प्रतिक्रियावादीहरुले सरकारबाट हटाएको उल्लेख गर्दै ओलीले आफू नेतृत्वको सरकारले पनि राम्रो काम गर्दागर्दै प्रतिक्रियावादी शक्तिहरुले पार्टी भित्रकै केही महत्वकांक्षीहरुलाई प्रयोग गरेर पार्टीलाई नै विभाजन गर्ने षडयन्त्र गरिरहेको बताउनु भयो । बैठकले प्रधानमन्त्रीमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई विश्वासको मत दिने २२ सांसदलाई स्पष्टीकरण सोधेको छ ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*