१० बुँदे सहमतिको कार्यान्वयनमा जोड दिने एमाले नेताहरुको प्रतिबद्धता
२ साउन, काठमाडौं । नेकपा एमालेका नेताहरुले पार्टीलाई एकतावद्ध बनाउन सम्पूर्ण ध्यान केन्द्रित गर्ने प्रतिवद्धता ब्यक्त गरेका छन ।
विघटित पार्टी एकता कार्य दलका सदस्यहरुले पार्टीलाई एकतावद्ध बनाउन सम्पूर्ण ध्यान केन्द्रित गर्ने निष्कर्ष निकालिएको प्रतिक्रिया दिएका हुन । शनिबार विहान सिंहदरवारस्थित एमाले संसदीय दलको कार्यालयमा बसेको बैठकले पार्टी एकताका लागि गठित कार्यदल जुटाएको १० बूँदे सहमति कार्यान्वयन गर्दै अघि बढने निर्णय गरिएको एमाले संसदीय दलका उपनेता सुवाष नेम्वाङले जानकारी दिनु भयो । पार्टीलाई एकतावद्ध बनाउने आम पार्टी पंक्तिको चिन्ता र सरोकारलाई सम्बोधन गर्न स्थायी समितिका नेताहरुबीच अनौपचारिक छलफललाई अघि बढाइएको पार्टीका सचिव गोकर्ण विष्टले बताउनु भयो । शुुक्रबार बसेको एमाले स्थायी समिति बैठक र संसदीय दलको बैठकले पार्टी एकताका लागि गठित कार्य दलले तयार पारेको १० बूँदे सहमति अनुुमोदन गर्दै सृजनात्मक र रचनात्मक ढंगले त्यसलाई कार्यान्वयन गर्दै लैजाने निर्णय गरेको थियो । बैठकमा अध्यक्ष केपी शर्मा ओली पक्षका नेताहरु सुवाष नेम्वाङ, विष्णु पौडेल, पृथ्वीसुब्बा गुरुङ, शंकर पोखरेल र विष्णु रिमाल सहभागी हुनुु भएको थियो भने वरिष्ठ नेता माधवकुमार नेपालको पक्षबाट भिम रावल, घनश्याम भुषाल, सुरेन्द्र पाण्डे, भिम आचार्य, गोकर्ण विष्ट, रघुजी पन्त सहभागी हुनु भएको थियो ।