अदालतमाथि खनिए ओली, लोकतान्त्रिक प्रणालीलाई गलत दिशामा लगेको आरोप
२९ असार, काठमाडौं । निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले आफुसंग जनादेश भएपनि सर्वोच्च अदालतको परमादेशका कारण सरकारको जिम्मेबारीबाट विदा लिएको बताउनुभएको छ ।
सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन लाई पुनस्थापित गर्दै नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्ती गर्न परमादेश जारी गरेपछि मंगलबार सिंहदरबारबाट विदाई सम्बोधन गर्दे उहाँले जनादेश आफुसंग भएपनि सर्वोच्चको परमादेशका कारण बाहिरीनु परेको बताउनुभएको हो । ओलीले अदालतको फैसला आफुहरुको विरुद्ध र संबैधानिक हिसाबले अनुचित भएपनि संविधानको सर्वोच्चता र विधिको शासनमा विश्वास गर्ने पार्टी भएका हैसियतले फैसलाको पालना गर्ने विषयमा पार्टी स्पष्ट रहेको बताउनुभयो । आफुहरुको चासो र चिन्ता संविधानको रक्षा र सुदृढीकरणमा तथा बहुलवादमा आधारित बहुदलिय प्रतिष्पर्धात्मक संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संसदीय शासन प्रणालीको भविष्य प्रति भएको भन्दै उहाँले फैसलाका कतिपय भाषा शैलीले लोकतन्त्रप्रति आस्था राख्ने लाई चिन्तित बनाएको बताउनुभयो । उहाँले ताजा जनादेशका लागि जनतामा जाने निर्णयलाई निरंकुश र कानुनको अपव्याख्यामाथि आधारित भएर दलिय प्रणालीको आधाभूत संरचना भत्काएर सरकार बन्ने बनाउने कुरालाई लोकतान्त्रिक भनेर गरिने परिभाषाले लोकतान्त्रिक प्रणालीलाई गलत दिशा तर्फ धकेल्न सक्छ भन्ने तर्फ आफुहरु गम्भीर र चिन्तित भएको बताउनुभयो । लोकतन्त्रको आधार स्तम्भका रुपमा रहेका राज्यका तीनवटा अंग बीचको सन्तुलन सर्वोच्चको फैसला संगै नराम्रोसंग खलबलिन पुगेको टिप्पणी उहाँले गर्नुभयो । फैसलाले क्षणिक रुपमा कसैलाई खुसी र हर्स दिएपनि लोकतन्त्रको मुल्यमा प्राप्त विजय क्षण भंगुर र अर्थहिन हुदैजाने दाबी उहाँले गर्नुभयो । आफ्ना विरुद्ध विभिन्न हल्ला फैलाईएको भन्दै उहाँले आफुले अनुचित र अराजनितिक हतकण्डा अपनाएर केही नगर्ने स्पष्ट पानुभयो । उहाँले लोकतन्त्रका लागि लड्दै आएको मान्छेमाथि नै कन्सिट्युसनल मोरालिटीको प्रश्न उठाईएको गुनासो पनि गर्नुभयो । उहाँले लोकतन्त्रविरुद्ध गम्भीर षडयन्त्र गरिएकाले आफुलाई समयमै निर्वाचन हुनेमा पनि शंका लागेको बताउनुभयो । उहाँले अदालतको फैसला पछि आफु सरकारबाट बाहिरीए पनि लोकतन्त्रको रक्षा र सुदृढीकरणकाको पक्षा खबरदारी गरिरहने बताउनुभयो । संविधानलाई संकट तिर धकेल्ने प्रयासका विरुद्ध चट्टान भएर उभिने भन्दै उहाँले केही समयका लागि देखिएको बादललाई हटाउदै सुर्य उदाउने उद्घोष गर्नुभयो । उहाँले कोभिड १९ विरुद्धको खोपको वर्तमान स्थितिबारे जानकारी दिदै प्रतिकुल अवस्थामा पनि सरकारले महामारी विरुद्ध प्रभावकारी लडाई गरेको दाबी गर्नुभयो । सरकारले संविधानको कार्यान्वयन, राष्ट्रियताको रक्षा र सुसासनका क्षेत्रमा दुरगामी महत्वका काम सम्पन्न गरेको तथा संघीयतालाई संस्थागत र सुदृढीकरण गरेको बताउनुभयो । उहाँले सिके राउत र विप्लबसंग भएको सहमति सम्भौतालाई पनि सरकारको महत्वपुर्ण उपलब्धिको रुपमा रहेको दाबी गर्नुभयो । उहाँले संविधानसंग असहमत सबै समुह संविधानको समर्थनमा आइसकेको बताउनुभयो । बाढी पहिरो प्रभावितको उद्धार तथा राहत वितरणमा पनि सरकारले उल्लेखनिय काम गरेको दाबी ओलीले गर्नुभयो ।