२८ वर्षपछि अर्जेन्टिना च्याम्पियन, स्टार खेलाडी मेस्सीको पहिलो अन्तर्राष्ट्रिय उपाधि
२७ असार, हेटौँडा । ब्राजिलमा सम्पन्न ४७ औं सस्करणको कोपा अमेरिकाको उपाधि अर्जेन्टिनाले जितेको छ ।
आइतबार बिहान भएको खेलमा आयोजक राष्ट्र ब्राजिललाई १–० गोल अन्तरले पराजित गर्दै २८ वर्षपछि अर्जेन्टिनाले उपाधि हात पारेको हो । अर्जेन्टिनालाई उपाधि दिलाउन एन्जल डी मारियाको गोल निर्णायक बन्यो । उनले खेलेको २२ औं मिनेटमा गोल गरेका थिए । निकै प्रतिस्पर्धात्मक खेलको सुरुवाती समयमा ब्राजिलले केहि आक्रमण गरेपनि गोल गर्न सकेन । खेलको ५२ औं मिनेटमा ब्राजिलका लागि रिचार्लिसनले गोल गरे पनि त्यसले मान्यता पाएन । त्यसमा अफसाइडको निर्णय दिइएको थियो । अर्जेन्टिनाका कप्तान लियोनल मेस्सीले उपाधिको खडेरी समेत तोडेका छन् । क्लब फुटबलबाट निकै सफलता हात पारे पनि देशलाई कुनै उपाधि जिताउन नसकेको भन्दै मेस्सीले आलोचना खेप्दै आएका थिए । सन् १९९३ मा मेक्सिकोलाई हराउँदै अर्जेन्टिनाले कोपाको उपाधि जिते यता २८ वर्षसम्म उपाधिविहीन थियो । यस बीचमा अर्जेन्टिनाले चार कोपा र एक विश्वकप फाइनलमा पुगे पनि पराजित भएको थियो । २००४ र २००७ को फाइनलमा ब्राजिलसँग पराजित भएको अर्जेन्टिना २०१५ र २०१६ को फाइनलमा चिलीसँग पराजित भएको थियो । अर्जेन्टिनाले कोलम्बियालाई पेनाल्टीमा हराएर फाइनल पुगेको थियो भने ब्राजिलले पेरुलाई हराएको थियो ।