माओवादी केन्द्र भुमिगत र छापामार किसिमले चल्योः टोपबहादुर रायमाझी
२५ असार, काठमाडौं । नेकपा(माओवादी केन्द्र)का पूर्व नेता टोपबहादुर रायमाझीले माओवादी केन्द्र भुमिगत र छापामार किसिमले चलिरहेको आरोप लगाउनुभएको छ ।
शुक्रवार माओवादी केन्द्र खारेजीको लागि निर्वाचन आयोगमा परेको निवेदनको सम्बन्धमा बुझ्नका लागि अन्य नेताहरु सहित पुग्नुभएका नेता रायमाझीले माओवादी केन्द्र नेपालको संविधान, कानुन र राजनीतिक दलसम्बन्धी ऐन अनुसार नचली भुमिगत र छापामार किसिमले चलिरहेको आरोप लगाउनुभएको हो । उहाँले विगत २९ वर्षदेखि सो पार्टीमा महाधिवेशन नभएको भएपनि २०६९ सालमा एउटा नाममात्रैको महाधिवेशन भएको र तत्पश्चात पनि महाधिवेशन नभएका कारण पार्टी नै अवैध भएको पनि बताउनुभयो । उहाँले राजनीतिक पार्टीहरु संस्थागत, वैधानिक र कानुनसंगत हुनुपर्ने बताउनुभयो । देशमा राजनीतिक पार्टीहरुमा अराजकता, अस्वस्थ प्रतिस्पर्धा र द्धन्द चलेको भन्दै उहाँले पार्टीहरुलाई सिस्टममा नल्याइ समृद्धि आउन नसक्ने बताउनुभयो । राजनीतिक पार्टीहरु बिचमा सुमधुर सम्बन्ध र स्वस्थ प्रतिस्पर्धा हुनुपर्ने उल्लेख गर्दै उहाँले अन्य राजनीतिक दलसँग प्रतिस्पर्धा गर्न आफ्नो पार्टीभित्र आन्तरिक जनवादको प्रयोग गरि स्वस्थ प्रतिस्पर्धा हुनुपर्ने पनि बताउनुभयो । राजनीतिक पार्टीहरुलाई सिस्टममा ल्याउनका निम्ति आफुहरुले माओवादी केन्द्र खारेजीको माग सहित निर्वाचन आयोगमा निवेदन दिएको उहाँले बताउनुभयो । नेता रायमाझीसँगै निर्वाचन आयोगमा माओवादी केन्द्रका पूर्व नेताहरु मणि थापा, प्रभु शाह लगायत पुग्नुभएको थियो । उहाँहरुले माओवादी केन्द्र खारेजीको माग गर्दै आयोगमा परेको निवेदनको निर्णय छिटो गर्नपनि आयोग समक्ष आग्रह गरेको नेता रायमाझीले बताउनुभयो ।