युरोकप २०२०ः इंग्ल्याण्ड फाइनलमा प्रवेश, उपाधिको लागि इटालीसंग खेल्ने
२४ असार, हेटौँडा । इंग्ल्याण्ड पहिलो पटक युरो कप फुटबलको फाइनलमा प्रवेश गरेको छ ।
डेनमार्कलाई अतिरिक्त समयमा २–१ गोलले हराउँदै इंग्ल्याण्ड उपाधि नजिक पुगेको हो । बिहिबार बिहान वेम्बली स्टेडियममा भएको खेलमा इंग्ल्याण्डका कप्तान ह्यारी केनले एक गोल गरे भने एक गोल आत्मघाती उपहार पाएको थियो । उता डेनमार्कका लागि मिकेल डाम्सगार्डले एक गोल गरे । डेनमार्कले खेलको ३० औं मिनेटमा डाम्सगार्डले गरेको गोलबाट अग्रता बनाए पनि जोगाउन सकेन । खेलको ३९ औं मिनेटमा डेनमार्कका कप्तान सिमोन क्येरले आत्मघाती गोल गरेपछि खेलमा १–१ को बराबरी भयो । दोस्रो हाफमा दुवै टोलीले गोल गर्न सकेनन् र खेल अतिरिक्त समयमा गएको थियो । अतिरिक्त समयको १०४ औं मिनेटमा इंग्ल्याण्डले पेनाल्टी पाएको थियो । केनको पेनाल्टी प्रहार डेनिस गोलकिपर क्यासपर स्माइकल्से बचाएका थिए तर रिबाउण्डमा केनले गोल गरे । पहिलो पटक युरो कपको फाइनलमा पुगेको इंग्ल्याण्ड र सेमिफाइनलमा स्पेनलाई हराएर फाइनलमा पुगेको इटली उपाधिका लागि आइतवार खेल्नेछन् ।