युरोकप र कोपा अमेरिकाको सेमिफाइनल समीकरण पुरा

स्वर्णिम खबर
२० असार २०७८, आईतवार १९:०५

२० असार, हेटौँडा । युरोकप २०२० को सेमिफाइनल समीकरण पूरा भएको छ ।
शनिबार राति भएका अन्तिम दुई क्वाटरफाइनल खेलपछि सेमिफाइनलमा खेल्ने चारवटै टोलीको टुङ्गो लागेको हो । शनिबार रातिको खेलमा डेनमार्कले चेक रिपब्लिकलाई २–१ ले र इंग्ल्याण्डले युक्रेनलाई ४–० ले पराजित गर्दै सेमिफाइनलमा स्थान बनाएका हुन् । यी दुई टोली नै दोस्रो सेमिफाइनलमा प्रतिस्पर्धा गर्नेछन् । यस्तै त्यसअछि पहिलो सेमिफाइनलमा इटली र स्पेन भिड्नेछन् । इंग्ल्याण्डबाहेक बाँकी तीन टिम युरोकपको पूर्व विजेता हुन् । इटली र स्पेनबीचको खेल जुलाई ६ तथा इग्ल्याण्ड र डेनमार्कबीचको खेल जुलाई ७ मा हुनेछ । दुवै खेल नेपाली समय अनुसार राति १२ः४५ बजे बेलायतको लण्डनस्थित वेम्वली स्टेडियममा हुनेछन् । दुई सेमिफाइनल विजेताले उपाधिका लागि जुलाई ११ मा फाइनल खेल्नेछन् ।

यस्तै ब्राजिलमा भइरहेको कोपा अमेरिका फुटबलको ४७ औं संस्करणको सेमिफाइनल समीकरण पूरा भएको छ ।


आइतबार बिहान दुई क्वाटरफाइनल खेल सम्पन्न भएपछि सेमिफाइनल पुग्ने चारवटै टोलीको टुङ्गो लागेको हो । क्वाटरफाइनलको पहिलो खेलमा कोलम्बियाले उरुग्वेलाई पेनाल्टी सुटआउटमा ४–२ ले हराउँदै सेमिफाइनलमा स्थान बनायो । यस्तै अर्को खेलमा अर्जेन्टिनाले इक्वेडरलाई ३–० ले हरायो । यही दुई टिम अर्जेन्टिना र कोलम्बिया दोस्रो सेमिफाइनलमा प्रतिस्पर्धा गर्नेछन् । त्यसअघि घरेलु टोली ब्राजिलले पेरुसँग पहिलो सेमिफाइनल खेल्नेछ । २०१९ मा भएको संस्करणमा ब्राजिलले पेरुलाई नै पराजित गर्दै उपाधि जितेको थियो । अब ब्राजिल र पेरुबीचको खेल मंगलबार बिहान नेपाली समय अनसार ४ः४५ बजे सुरु हुनेछ । यस्तै अर्जेन्टिना र कोलम्बियाबीचको खेल बुधबार बिहान ६ः४५ बजे सुरु हुनेछ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*