कोशी ब्यारेजका २९ वटा ढोका खोलिए
सप्तकोशी नदीमा पानीको वहाव यस वर्षकै उच्च मापन भएको छ । कोशी नदीमा अहिले २ लाख क्यूसेक भन्दा बढि पानी बगिरहेको छ । जिल्ला प्रशासन कार्यालय सुनसरीका अनुसार सप्तकोशी नदीमा पानीको वहाव २ लाख २१ हजार ४ सय ७५ क्यूसेक प्रतिसेकेण्ड पुगेको छ । नदीको जलस्तर बढेसँगै कोशी ब्यारेजका २९ वटा ढोका खोलिएका छन् । नदीमा वहाव बढेसँगै ब्यारेज पुलमा रातो बत्ति समेत बालिएको छ । सुनसरीका प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकालले बहाव बढेपनि खतरा भने नरहेको बताउनु भएको छ । वहाँले तटिय क्षेत्रका वासिन्दालाई सर्तकता अपनाउन भनिएको बताउँदै सम्भावित डुबान र बाढीलाई मध्यनजर गर्दै सुरक्षा निकायलाई सतर्क रहन भनिएको जानकारी दिनु भयो ।