ठेकेदारले ढिलाई गर्दा सरकारलाई दोष : मुख्य मन्त्री डोरमणि पौडेल
ठेकेदारको कारण कुनै पनि काम समयमा सम्पन्न नहुनाले सबै दोष सरकारलाई आउने गरेको बागमती प्रदेशको मुख्य मन्त्री डोरमणि पौडेलले बताउनुभएको छ । कृषि विकास निर्देशनालय, बागमती प्रदेश र हेटौंडा उपमहानगरपालिकाको सहकार्यमा निर्माण हुने प्रादेशिक कृषिथोक बजारको शिलान्यास गर्दै प्रमुख अतिथि पौडेलले यस्तो बताउनुभएको हो । शिलान्यास कार्यक्रममा मुख्यमन्त्री पौडेलले तरकारी मात्र नभई कृषि सुपरमार्केट जसलाई केन्द्र मानेर मेची देखि महाकाली सम्मका सम्पूर्ण कृषि उपजहरुको अर्डर प्लाण्टको रुपमा स्थापित गराउने बताउनुभयो । कार्यक्रममा भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री दावा दोर्जे लामाले राष्ट्रिय गौरवको प्रोजेक्ट रहेकोले सम्पूर्ण नगरवासीहरुलाई एक भई निर्माण सम्पन्न गर्न आग्रह गर्नुभएको छ । परम्परागत कृषि प्रणालीलाई रुपान्तरण गरि आधुनिक र व्यवसायिक बनाउनको लागी कृषि थोक बजारको स्थापना गर्न लागिएको मन्त्री लामाले बताउनुभयो ।
अन्तराष्ट्रिय स्तरको आधुनिक थोक बजारमा हुने सबै किसिमका सुविधाहरु यस बजारमा रहने मन्त्री लामाले बताउनुभयो । हेटौंडा उपमहानगरपालिका वडा नं.११ थानाभ¥याङमा कुल २ विगाह ४ धुर क्षेत्रफलमा कुषीथोक बजार निर्माण हुन लागेको हो । भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, कृषि विकास निर्देशनालयको ७० प्रतिशत र हेटौंडा उपमहानगरपालिकाको ३० प्रतिशत लागत साझेदारी रहने यस बजारको कुल २८ करोड ३६ लाख पचपन्न हजार नौं सय त्रियासी रुपैंयाको लागतमा बजार निर्माण हुन लागेको हो । २०८१ जेष्ठ ८ गते तीन वर्ष भित्रमा निर्माण सम्पन्न गर्नको लागि कृषि विकास निर्देशनालयले आह्रन गरेको बोलपत्र अनुसार ए एन के माउन्टेन जे.भी. कमलपोखरीलाई दिईएको छ । कृषि विकास निर्देशनालयका प्रमुख रविन्द्र प्रधानको सभापतित्व रहेको कार्यक्रममा बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौंडेलको प्रमुख आतिथ्यता रहेको थियो ।
कार्यक्रममा भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री दावा दोर्जे लामा ,हेटौंडा उपमहानगरपालिकाका मेयर हरि बहादुर महत, उपमेयर मिना लामा लगायत विभिन्न संघ संस्थाका प्रतिनिधि लगायत स्थानिय वासिन्दाहरुको उपस्थिती रहेको थियो ।