अपांगता भएका व्यक्तिहरुलाई आर्थिक तथा सामाजिक रुपमा सशक्त बनाउनेः मन्त्री बस्नेत
१६ असार, हेटौँडा । बागमती प्रदेशका सामाजिक विकास मन्त्री सरस्वती बस्नेतले अपाङ्गता भएका व्यक्तिको सीप विकास गर्दै आर्थिक तथा सामाजिक रुपमा सक्षम बनाउनका लागि प्रदेश सरकार प्रतिबद्ध रहेको बताउनु भएको छ ।
बुधबार अपाङ्गता भएका व्यक्तिहरुलाई अपाङ्गता सहायता सामग्री वितरण गर्दै मन्त्री बस्नेतले अपाङ्गता भएका व्यक्तिहरुले पनि सिप र क्षमता अनुसारको आर्थिक क्रियाकलाप गर्न सक्ने वातावरण बनाउने तथा त्यसका लागि आवश्यक कार्यक्रमहरु बजेटमा राखेको बताउनुभयो । सामाजिक विकास मन्त्रालयको आयोजनामा भएको अपाङ्ग सहायता सामग्री वितरण कार्यक्रमका उनीहरुलाई आर्थिकरुपमा सक्षम बनाउन सिपमूलक विविध कार्यक्रममार्फत मन्त्रालयले सहयोग गर्ने प्रतिवद्धता पनि उहाँले जनाउनुभयो । मन्त्रालयले राष्ट्रिय अपाङग कोषसँगको साझेदारीमा १० लाख रुपैयाँ बराबरको अपाङ्ग सहायता सामग्री वितरण गरेको हो । कार्यक्रमका सहभागीहरुले परिवारमा अपाङ्गता भएको व्यक्तिलाई सबलाङ्ग व्यक्तिलाई भन्दा फरक व्यवहार गर्ने गरेको तथा घरभित्रै राख्ने गर्दा पछाडि पर्ने गरेको बताए ।
कार्यक्रममा सहभागी ४९ जना विभिन्न प्रकारण अपाङ्गता भएका व्यक्तिलाई सेतो छडी, ह्वील चेयर, कृतिम खुट्टा, वाकरलगायतका सामग्रीहरु वितरण गरिएको हो । प्रदेशका एकसय जनालाई सहायता सामग्री वितरण गरिने कार्यक्रम रहेकाले अन्यलाई प्रत्येक जिल्लामै उपलब्ध गराउने मन्त्रालयले जनाएको छ । राष्ट्रिय अपाङग महासंघको समन्वयमा भएको कार्यक्रममा सामाजिक विकास मन्त्रालयका सचिव यज्ञप्रसाद ढुङ्गेल, राष्ट्रिय अपाङग कोषका सभापति रमेश लामालगायतले मन्तव्य राख्नु भएको थियो ।