हेटौंडा अस्पतालमा सोमबारबाट डायलासिस सेवा सुरु

स्वर्णिम खबर
१४ असार २०७८, सोमबार १८:१७

१४ असार, हेटौँडा । मदन भण्डारी स्वास्थ्य बिज्ञान प्रतिष्ठानद्वारा संचालित हेटौंडा अस्पतालमा सोमबारबाट डायलासिस सेवा सुरु गरिएको छ ।
उपमहानगरपालिकाले डायलासिस मेसिन र पूर्वाधार समेत तयार पारेपछी सोमबारबाट अस्पतालमा सेवा सुरु गरिएको हो । डायलासिस सेवाको उद्घाटन गर्नुहुँदै उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले मकवानपुरका मृगौलाका सबै बिरामीलाई सेवा दिनेगरी कामको सुरुवात गरिएको वताउनुभयो । यो सेवा लिनका लागि चितवन, काठमाण्डौ, बिरगन्ज लगायतका जिल्लामा जानुपर्ने बाध्यता पनि हटेको उहाँले वताउनुभयो । अहिले पाँच वटा मेसिन मार्फत मृगौलाका बिरामीको डायलासिस गर्न सुरु गरिएको छ । यो सेवाका लागि उपमहानगरपालिकाको समन्वय र सहयोगमा डायलासिस मेसिन ल्याएर काम सुरु गरिएको हो । अब छिट्टै थप पाँच वटा मेसिन ल्याएर डायलासिल सेवालाई बिस्तार गर्दै लैजाने तयारीमा रहेको मेयर महतले वताउनुभयो । हेटौंडा अस्पतालको प्राविधिक व्यवस्थापनमा डायलाइसिसको काम भइरहेको छ । सोमबार बिहान मात्र तीन जना बिरामीको डायलालसिस गरिएको छ । आउँदो आर्थिक वर्षको बजेटमा पनि अस्पतालको स्वास्थ्यमा उपमहानगरपालिकाले रकम छुट्याएको उहाँले वताउनुभयो । अब उपमहानगरपालिकाकै लगानीमा सरुवा रोगको उपचार गर्नका लागि अस्पताल स्थापना गरिने मेयर महतले वताउनुभयो । हेटौंडा अस्पतालले तत्कालका लागि दैनिक ११ जना मृर्गौलाका बिरामीहरुलाई सेवा दिइने अस्पताल व्यवस्थापन समितिका सदस्य उत्सव चौलागाइँले जानकारी दिनुभयो । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी भरतमणी पाण्डे, हेटौंडा उपमहानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत शिबराज चौलागाई, प्रतिष्ठानका रजिस्ट्रार एवं अस्पतालका अध्यक्ष राजेश प्रसाईं, प्रतिष्ठानका संयोजक चिरञ्जीवी चुडाल, अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेन्ट रामचन्द्र सापकोटा लगाएतको आतिथ्यता रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*