नोक्सानीलाई घटाउनको लागि मुल्यवृद्धि गर्नुपरेको आयल निगमको स्पष्टोक्ती
११ असार, काठमाडौं । नेपाल आयल निगमले कम्पनीको नोक्सानलाई कम गर्नका लागि पेट्रोलियम पदार्थको मुल्यवृद्धि गर्नुपरेको बताएको छ ।
नेपाल आयल निगम लिमिटेडका प्रवन्ध निर्देशक सुरेन्द्र कुमार पौडेलले अन्तर्राष्ट्रिय बजारमा क्रुड र डलरको भाउ अनपेक्षित रुपमा बढेकाले नेपालमा पनि पेट्रोलियम पद्धार्थको मुल्यवृद्धि गर्नुपर्ने अवस्था आएको बताउनुभयो । हाल आयल निगम निरन्तर घाटामा गइरहेको भन्दै उहाँले नाफा कमाउने उद्देश्यका लागि नभई कम्पनीको नोक्सानीलाई घटाउनको लागि मुल्यवृद्धि गरीएको उहाँले प्रष्ट्याउनुभयो । आगामी दिनमा पनि मुल्यवृद्धि हुनसक्ने उहाँको भनाई छ । आयल निगमले असार ९ गते राति १२ बजेदेखि लागु हुनेगरी पेट्रोल तथा डिजेल÷मट्टीतेलको साबिकको विक्रि मुल्यमा २ रुपैयाँ वृद्धिगरी नयाँ खुद्रा विक्रि मुल्य क्रमशः १२७ रुपैयाँ, ११० रुपैयाँ कायम गरेको छ । त्यसैगरी आन्तरिक उडानको हवाइ इन्धनमा प्रतिलिटर २ रुपैयाँ वृद्धि गरी ८२ रुपैयाँ प्रतिलिटर र अन्तर्राष्ट्रिय उडानको हवाइ इन्धनमा अमेरिकी डलर २० ले वृद्धि गरी नयाँ विक्रि मुल्य अमेरिकी डलर ७४५ प्रति किलोलिटर कायम गर्ने निर्णय गरेको छ । यति वृद्धि गर्दापनि आयल निकै अझै घाटामा रहने आयल प्रवन्ध निर्देशक पौडेलले जानकारी दिनुभयो ।