प्रतिनिधि सभाको विघटनले लोकतन्त्रमाथि खतराः सभापति देउवा

स्वर्णिम खबर
१० असार २०७८, बिहीबार १९:०८

१० असार, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले लोकतान्त्रिक प्रणाली र देशलाई नै संकटमा धकेल्ने काम भएको भन्दै राष्ट्रिय हितको संरक्षण र लोकतन्त्रको रक्षाको निम्ति संयुक्त मोर्चा अग्रसर भएको बताउनुभएको छ ।
बिहीबार विपक्षी गठबन्धनको तर्फबाट सम्पादकहरुसँग आयोजित अन्र्तक्रियामा बोल्दै सभापति देउवाले प्रतिनिधि सभाको विघटनले लोकतन्त्रमाथि खतरा उत्पन्न भएको बताउनुभएको छ । उहाँले आफुलाई प्रधानमन्त्री बनाउने निवेदनलाई अस्वीकार गरी लोकतान्त्रिक मुल्य र मान्यतामाथि प्रहार भएको बताउनुभयो । संविधान र लोकतन्त्रको रक्षा, राष्ट्रिय हितको रक्षाको लागि पाँच राजनीतिक दलको संयुक्त मोर्चा बनेको उहाँले स्पष्ट पार्नुभयो । सभापति देउवाले आफुहरु मित्रराष्ट्र तथा अन्तर्राष्ट्रिय मुलुकहरुसँग स्वतन्त्र परराष्ट्र नीतिको आधारमा सम्बन्ध कायम गर्न चाहेको पनि बताउनुभयो । सभापति देउवाले लोकतन्त्र र संविधानको पक्षमा उभिन पनि सबैलाई आव्हान गर्नुभयो । नेकपा एमालेका बरिष्ठ नेता माधव कुमार नेपालले आफुहरु देश र जनताको हितको निम्ति दृढताका साथ अगाडी बढ्ने भन्दै आन्दोलनबाट विचलित नहुने बताउनुभयो । आफुहरुको चिन्ता र चासो देशको स्वाधिनता र स्वाभिमानको रक्षा गर्ने रहेको पनि उहाँले बताउनुभयो । आफ्नो गल्ती र कमीकमजोरीलाई सच्याएर आए केपी शर्मा ओलीलाई पनि स्वागत गर्न तयार रहेको उहाँले बताउनुभयो । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्रीले लोकतन्त्र, गणतन्त्र र संविधानमाथि प्रहार गर्दै जाने र राष्ट्रपतिले सदर गर्दै गएमा लोकतन्त्र नरहने बताउनुभयो । लोकतन्त्र नरहने शान्ति, समृद्धि र स्थिरता अगाडी नबढ्ने पनि उहाँले बताउनुभयो । अध्यक्ष यादवले राष्ट्रपतिले शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्ति नगरेका कारण उहाँको भुमिका शंकास्पद र प्रश्नबाचक रहेको पनि बताउनुभयो । उहाँले सर्वोच्च अदालतले संविधान र लोकतन्त्रको पक्षमा, न्यायको पक्षमा फैसला गर्ने विश्वास पनि व्यक्त गर्नुभयो । राष्ट्रिय जनमोर्चाका महासचिव मनोज भट्टले संसद विघटनका विदेशी शक्तिको हात रहेको दाबी गर्नुभयो । उहाँले भारतीय गुप्तचर प्रमुख नेपाल आएपछि नेपालको राजनीतिमा अप्रत्याशित रुपमा फेरबदल भएको टिप्पणी गर्नुभयो । प्रतिनिधि सभा विघटनविरुद्धको कदममा ०६२÷०६३ को जनआन्दोलनका सहयात्री दलहरु एक हुनुपर्ने उहाँले बताउनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*