हेटौँडा उपमहानगरपालिकाले ल्यायो २ अर्ब ६० करोडको बजेट
१० असार, हेटौँडा । हेटौंडा उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०७८÷०७९ को नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गरेको छ ।
बिहीबार बसेको नवौं नगरसभामा उपमेयर मीनाकुमारी लामाले नीति तथा कार्यक्रमसहित आगामी आर्थिक वर्षका लागि २ अर्ब ६० करोड १५ लाख ५२ हजार रुपैयाँको बजेट प्रस्तुत गरेकी हुन् । चालु आर्थिक वर्षको तुलनामा उपमहानगरपालिकाले ६ करोड ७६ लाख १८ हजार वृद्धि गरेर बजेट ल्याएको हो । उपप्रमुख लामाका अनुसार आन्तरिक स्रोतबाट २४ करोड ३८ लाख ७५ हजार, राजस्व बाँडफाँडबाट ५६ करोड ८ लाख ८१ हजार, प्रदेश सरकारको विभिन्न अनुदानबाट १२ करोड ६६ लाख ९६ हजार, संघीय सरकारको अनुदान १ अर्ब २ करोड १ लाख, नगर विकास कोषबाट ऋण अनुदान ९ करोड र गत बर्षको नगद मौज्दातबाट ५६ करोड रुपँयाको व्यवस्थापन गरिने उपमेयर लामाले बताउनुभयो । बजेटमा पुर्वाधार विकास तर्फ १ अर्ब ३० करोड ६० लाख ७६ हजार, आर्थिक विकासतर्फ १२ करोड ९८ लाख, सामाजिक विकासतर्फ ६३ करोड ९२ लाख ९९ हजार, स्वास्थ्यतर्फ ८ करोड ६१ लाख १० हजार, संस्कृति प्रवर्द्धनतर्फ २ करोड ३७ लाख, खेलकुद तथा मनोरञ्जनतर्फ ३ करोड ७२ लाख ८० हजार, लैंगिक समानता तथा सामाजिक समावेशीकरणतर्फ ३ करोड ७ लाख, वातावरण तथा विपद् व्यवस्थापनतर्फ ५ करोड ४४ लाख २२ हजार र संस्थागत विकास सेवा प्रवाह र सुशासनतर्फ १ करोड ९१ लाख विनियोजन गरिएको छ ।