हेटौँडाबाट ९६ किलो ४ सय ग्राम लागुऔषध गाँजासहित ५ जना पक्राउ
२ असार, हेटौँडा । मकवानपुर प्रहरीले ९६ किलो ४ सय ग्राम लागुऔषध गाजा सहित ५ जना पक्राउ परेका छन् ।
ट्रकको सिटमुनि लुकाएर ल्याएको अवस्थामा हेटौंडा उपमहानगरपालिका ११ स्थित थानाभ¥याङबाट ९६ किलो ४०० ग्राम लागुऔषध गाँजा प्रहरीले पाँच जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा मनहरी गाउँपालिका वडा नम्बर–६ का २५ वर्षीय सन्तोष आलेमगर, सोही ठाउँ बस्ने बर्ष २१ को मोसा घलान, कैलाश गाउँपालिका वडा नम्बर–८ भार्ता बस्ने वर्ष २४ का उमेश लामा, सोही स्थान बस्ने बर्ष २९ का रोशन मुक्तान र चितवन राप्ती नगरपालिका वडा नम्बर–२ बस्ने बर्ष ३१ का बिष्णु लामा रहेका छन् । मंगलबार राती १० बजेको समयमा जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको बिशेष प्रहरी टोलीले ना.२ ख ५५७९ नम्बरको कन्टेनर गाडीमा लुकाईछिपाई ल्याइको लागूऔषध गाँजा ९६ किलो ४ सय ग्रामसहित उनीहरुलाई पक्राउ गरेको प्रहरी नायब उपरीक्षक जयश्वर रिमालले जानकारी दिनुभयो । मनहरीबाट हेटौँडातर्फ आउँदै गरेको कन्टेनरलाई हेटौंडा–११ थानाभर्याङमा रोक्न खोज्दा नरोकी फरार भएको र प्रहरी टोलीले उक्त कन्टेनरको हेटौंडा–१० मेनरोडमा रोकी चेकजाँच गर्ने क्रममा कन्टेनरको केविनमा फल्स बटम बनाई लुकाई छिपाई ल्याएको १२ वटा पोकामा सो परिणामको गाँजा बरामद भएपछि उनीहरु पक्राउ गरिएको प्रवक्ता रिमालले बताउनुभयो । पक्राउ पर्ने ५ जना, लागुऔषध गाँजा र कन्टेनर गाडीलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।