बागमती प्रदेशमा ५७ अर्ब ७२ करोडको बजेट
१ असार, हेटौँडा । बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ५७ अर्ब ७२ करोड ९ लाख २७ हजार विनियोजन गरेको छ ।
प्रदेशसभामा आज आर्थिक मामिला तथा योजना मन्त्री कैलाश प्रसाद ढुंगेलले ५७ अबृ रुपैयाँ भन्दा धेरै रकमको बजेट ल्याउनु भएको हो । कुल विनियोजन मध्ये चालु तर्फ २६ अर्ब १ करोड ६६ लाख २३ हजार बजेट छुट्याइएको छ । यसमा पुँजिगत तर्फ २९ अर्ब ७० करोड ४३ लाख ४ हजार र वित्तीय व्यवस्थातर्फ २ अर्ब विनियोजन गरिएको मन्त्री ढुंगेलले वताउनुभयो । कुल विनियोजनमा चालु तर्फ ४५ प्रतिशत, पुँजिगत तर्फ ५१ प्रतिशत र वित्तीय व्यवस्थातर्फ ४ प्रतिशत रहेको उहाँले वताउनुभयो । आगामी आर्थिक वर्षको लागि अनुमान गरिएका खर्च व्यहोर्ने श्रोतमध्ये कर राजस्वबाट २३ अर्ब ८२ करोड १८ लाख रुपैयाँ, अन्य राजस्वबाट ६ अर्ब ८२ करोड १३ लाख ३१ हजार रुपैयाँ, संघीय सरकारबाट वित्तीय हस्तान्तरण अनुदानमा प्राप्तख हुने १६ अर्ब ९२ करोड ६८ लाख रुपैयाँ, विविध प्राप्ती १ अर्ब ५ करोड ९ लाख ९६ हजार र चालु आर्थिक वर्षको राजस्व बचतबाट ९ अर्ब १० करोड प्राप्तर हुने अनुमान गरिएको मन्त्री ढुंगेलले वताउनुभयो । आगामी आर्थिक वर्षको राजस्व नीति तथा करका दरहरु निर्धारण गर्दा कोभिड–१९ महामारीले मानव जीवनमा पारेको प्रभाव र यसको रोकथाम र नियन्त्रणको प्रयासबाट आर्थिक क्षेत्रमा पारेको संकटलाई मध्यनजर गरी करदाता तथा सेवाग्राहीलाई राहत एवम् सहुलियत सहित आर्थिक पुनरुत्थानलाई उच्च प्राथमिकता दिएको उहाँले वताउनुभयो । कोभिड–१९ महामारी, रोकथाम र नियन्त्रण प्रयासको कारण प्रभावित क्षेत्रको करका दरमा समायोजन, छुट लगायतका सहुलियत प्रदान गरिने उहाँले वताउनुभयो । करका संरचना तथा दरहरुलाई समय सापेक्ष बनाउँदै करको दायरा विस्तार, कराधार संरक्षण र राजस्व चुहावट नियन्त्रण गरिने वताइएको छ । राजस्व प्रणालीलाई थप प्रगतिशील, स्वच्छ, पारदर्शी, स्वचालित र अनुमानयोग्य बनाइने भएको छ । राजस्व प्रशासनमा सूचना प्रविधिको प्रयोग बढाई प्रकृयागत सरलीकरण, व्यवसायिक, दक्ष र सुदृढ राजस्व प्रणालीको विकास गरिनेछ।