लकडाउन खुल्ने बित्तिकै जनकपुर–जयनगर रेल सञ्चालन गर्ने तयारी थाल्न निर्देशन
३१ जेठ, काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री बसन्तकुमार नेम्वाङले लकडाउन खोल्नवित्तिकै जनकपुर–जयनगर रेल सञ्चालन गर्ने तयारी थाल्न रेल विभागलाई निर्देशन दिनुभएको छ ।
मन्त्री नेम्वाङले पानिजहाज कार्यालय, मेट्रो रेल विभाग र यातायात व्यवस्था विभागका प्रमुखहरुसँग छलफल गर्ने क्रममा रेल विभागलाई लकडाउन खुल्न वित्तिकै रेल सञ्चालन गर्ने गरी सम्पूर्ण तयारी पुरा गर्न निर्देशन दिनुभएको हो । नीतिगत, व्यवहारिक र प्राविधिक सम्पूर्ण कुराहरुको व्यवस्थापन भइसक्दा पनि रेल सञ्चालनमा ढिलाइ भएकाले छिटोभन्दा छिटो सञ्चालनमा आउनुपर्ने उहाँले बताउनुभयो । मन्त्री नेम्वाङले पानिजहाज सञ्चालनका लागि तयारी गर्न तथा नदीनालाहरुमा सम्भाव्यता अध्ययनको काम अघि बढाउन पानिजहाज कार्यालयलाई पनि निर्देशन दिनुभएको छ । मन्त्री नेम्वाङले पानिजहाज सञ्चालनको निम्ति रुट बनाउँदा खुवालुङको ढुंगाको संरक्षण गर्नेकुरा पनि स्पष्ट पार्नुभयो । खुवालुङको सम्बन्धमा उठेका जनआवाजलाई ध्यान दिने उहाँको भनाई छ । त्यसलाई ध्वस्त पारेर, नष्ट पारेर गर्न नखोजेको कुरा स्पष्ट पार्न पनि उहाँले निर्देशन दिनुभयो । आगामी दिनको कार्यायोजना स्पष्ट रुपमा बनाएर काममा लाग्न पनि उहाँले पानिजहाज कार्यालयलाई निर्देशन दिनुभयो । त्यसैगरी यातायात व्यवस्था विभागले पनि हालसम्म कुनै प्रगति देखाउन नसकेको भन्दै स्मार्ट कार्ड प्रिन्ट, ठेक्का सम्झौता, भाडा समायोजन लगायतको विषयमा परिणाम देखिनेगरी काम गर्न पनि उहाँले आग्रह गर्नुभयो ।