नेपाल पक्षका सांसद्ले साथ दिँदा बागमती प्रदेशको नीति तथा कार्यक्रम बहुमतले पारित
२९ जेठ, हेटौँडा । बागमती प्रदेशको नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ ।
आगामी आर्थिक वर्ष २०७८÷०७९ को नीति तथा कार्यक्रममाथि बागमती प्रदेशसभामा भइरहेको छलफल शनिबार सकिएको छ । नीति तथा कार्यक्रममाथि शुक्रबार छलफल गर्ने क्रममा विपक्षी दलले चर्को आलोचना गरेका थिए भने सत्तापक्षकै माधव नेपाल पक्षका सांसदले नीति तथा कार्यक्रमको कार्यान्वयन शंका गरेका थिए तर नेपाल पक्षका सांसदले साथ दिएसँगै नीति तथा कार्यक्रम बहुमतले पारित भएको हो । नीति तथा कार्यक्रम पास गराउने उद्देश्यले प्रदेश संसदीय दलको बैठक शनिबार बिहान हेटौँडामा बसेको थियो । बैठकमा नेपाल पक्षका अष्टलक्ष्मी शाक्य र राजेन्द्र पाण्डेले आफ्ना सांसदलाई सरकारको पक्षमा समर्थन गर्न आग्रह गरेका थिए । त्यसअघि संसदीय दलका नेता तथा मुख्यमन्त्री डोरमणि पौडेलले नीति तथा कार्यक्रममाथि समर्थन गर्न निर्देशन जारी गरेका थिए । यसअघि शुक्रबार ४७ जना सांसद्हरुले नीति तथा कार्यक्रम माथिको छलफलमा भाग लिएका थिए । छलफल उठेका प्रश्नहरुको जवाफ दिँदै मुख्यमन्त्री पौडेलले नीति तथा कार्यक्रमको बचाउ गर्दै विरोधको लागि मात्रै विरोध गर्ने परीपाटीको अन्त्य गर्न आग्रह गर्नुभयो । संघीय सरकारसँगको सहकार्य र समन्वयमा प्रदेश सरकारले गरेको काम गर्नु पर्ने भएकाले संघीय सरकारको निर्देशनलाई आत्मसाथ गर्दै प्रदेश सरकार सञ्चालन भइरहेको उहाँको भनाइ छ । प्रदेश सरकारले विगतमा प्रस्तुत गरेको नीति तथा कार्यक्रमलाई आधार मानेर आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम तय गर्ने भएकाले प्रदेश सरकारले आफ्नो क्षमता अनुसारको नीति तथा कार्यक्रम तयार पारेको मुख्यमन्त्री पौडेलको जिकिर छ । उहाँले सरकारले कोरोना नियन्त्रण, उपचार र आर्थिक सहायताका कार्यक्रमलाई प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम तयार पारेकाले सरकार प्रदेशवासीहरू प्रति प्रतिबद्ध रहेको बताउनुभयो । विद्युतीय बस र हेटौंडा–काठमाडौं सुरुङमार्ग संघीय सरकारको सह–लगानीमा सञ्चालन र निर्माण गरिने तथा ४ वर्ष भित्रमा निर्माण सकिने गरी २ अर्ब खर्चमा सुरुङमार्गको काम गरिने मुख्यमन्त्री पौडेलले बताउनुभएको थियो । सभामुख सानुकुमार श्रेष्ठले अर्को बैठक असार १ गते दिउँसो ३ बजेलाई बोलाउनुभएको छ । उक्त बैठकमा प्रदेश सरकारले आव २०७८÷०७९ को वार्षिक बजेट प्रस्तुत हुनेछ ।