नीति तथा कार्यक्रम सुन्दा मिठो तर हावादारीः प्रतिपक्षी दल
२८ जेठ, हेटौँडा । बागमती प्रदेशको आर्थिक वर्ष २०७८÷७९ को नीति तथा कार्यक्रम माथिको छलफल सकिएको छ ।
शुक्रबार भएको प्रदेशसभा बैठकमा सत्तापक्ष र प्रतिपक्षका सांसदहरुले नीति तथा कार्यक्रमको चर्को आलोचना गरेका थिए । नेकपा माओवादी केन्द्र बागमती प्रदेश संसदीय दलका नेता शालिकराम जम्कट्टेलले नीति तथा कार्यक्रमलाई सुन्दा मिठो तर हावादारीको संज्ञा दिनुभएको थियो । नेता जम्कट्टेलले बहुवषिय योजनाका सिलिङहरु छलफल नै नगरि ल्याएको आरोप समेत लगाउनुभएको थियो । यस्तै प्रदेश सरकारले सुरुङ मार्ग बनाउन नै चाहेको हो भने जनताबाट निजी कम्पनीले उठाएको सेयरको रकमको जिम्मा सरकारले लिन सक्नु पर्ने भन्दै अन्यथा प्रदेशका सोझा जनतालाई भ्रम छर्न सुरुङ मार्गको सपना देखाउन नहुने उहाँले बताउनुभयो । प्रदेश सरकारले आवश्यकता र क्षमता भन्दा बाहिरका सुरुङ मार्ग, विद्युतीय बस खरिद तथा संचालन लगायतका योजनाहरुमा बजेट विनियोजन गर्न नहुने उहाँको भनाइ छ । यस्तै छलफलमा भाग लिँदै माधव नेपाल पक्षका प्रदेश सांसद्हरुले नीति तथा कार्यक्रमको कार्यान्वयन नहुने भन्दै विरोध गरेका थिए । उनीहरुले विनियोजन विधेयकको सिद्धान्त, प्राथमिकता र नीति तथा कार्यक्रममा कुनै तालमेल नमिलेको टिप्पणी गरेका छन् तर ओली पक्षीय सांसद्हरुले भने नीति तथा कार्यक्रमको बचाउ गरे । ओली पक्षीय सांसद्हरुले विरोधको लागि विरोध गर्ने परिपाटीको अन्त्य गर्नुपर्ने बताएका छन् । उनीहरुले सबैजना मिलेर नीति तथा कार्यक्रमलाई प्रदेशसभाबाट पारित गर्नुपर्ने बताएका छन् ।